Logo
Logo

प्रधानमन्त्रीका निजी सचिव नै अख्तियारको छानबिनमा


20.9k
Shares


काठमाडौं । विगतका दुई कार्याकाल अपेक्षाकृत हुन नसकेपनि यसपटक राम्रो काम गर्ने प्रतिबद्धता प्रधानमन्त्री पुष्पकमल दाहालले व्यक्त गरेपनि उनको कार्यशैली भने विपरीत देखिएको छ । उनले निजी सचिव नै निजामती प्रशासनका बदनाम पात्रलाई रोजेपछि सुशासनको धज्जी उडेको छ ।


अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका सहसचिव नवराज ढुंगानालाई प्रचण्डले आफ्नो निजी सचिव बनाएपछि सिंहदरभित्रबाटै प्रश्न गर्न थालिएको छ । सहसचिव ढुंगाना सधैं शक्तिकेन्द्रको आकर्षक कार्यालयमा बस्दै आएका छन् । त्यहाँ उनी अनियमितताका कारण विवादमा समेत परेका छन् र उनले अकुत सम्पत्ति समेत आर्जन गरेका छन् ।


यसअघि उनी वीरगञ्ज भन्सार कार्यालयको प्रमुख थिए । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँगको निकटताका आधारमा उनले त्यो अवसर पाएका थिए । त्यसअघि महालेखा नियन्त्रक कार्यालयको प्रशासन महाशाखा प्रमुख थिए । त्यतीबेला लेखाका कर्मचारीको सरुवामा उनले आर्थिक चलखेल गरे ।


उनीबाट पीडित कर्मचारीले नै अख्तियारमा उजुरी गरेको स्रोत बताउँछ । १३ पुस २०७९ मा अख्तियारमा दर्ता भएको सो उजुरीमा ढुंगानाले लेखाका कर्मचारीको सरुवाका लागि २५ हजारदेखि ५ लाख रुपैयाँसम्म उठाएको र श्रीमतीले समेत सुनका गहनाहरु उपहार लिएको उल्लेख छ । सो उजुरीमा भदौ १ गतेदेखिको उनको ‘कल डिटेल’ हेर्ने हो भने सरुवामा भएको सेटिङ सबै खुल्ने उल्लेख छ । अकुत सम्पत्ति ससुरालीतर्फका आफन्तको नाममा राखिएको उजुरीमा दाबी गरिएको छ । लाभ लिएर कतिपयलाई सरुवा गर्न नसकेको र अब शक्तिशाली ठाउँमा भएकाले अब मिलाइदिने भन्दै उनले फकाएको महालेखा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।


यसअघि पनि उनीविरुद्ध अख्तियारमा उजुरी परेका थिए । उनी गोरखा नगरपालिका, तत्कालिन पोखरा उपमहानगरपालिका र रत्ननगर नगरपालिकामा प्रशासिकय अधिकृतको रुपमा काम गरेका थिए । त्यतीबेला उनले गरेका निर्णयविरुद्ध आयोगमा उजुरी परेपछि उनले मिलाएका थिए । रत्ननगरमा जग्गाको कित्ताकाट खुलाउने भन्दै पैसा उठाएलगत्तै सरुवा लिएर भागेको उजुरी छ ।


शक्ति बस्नेत वनमन्त्री हुँदा उनले डिएफओ सरुवामा चलखेल गरेका थिए । त्यस्तै मात्रिका यादब उद्योगमन्त्री हुँदा पनि उनको सचिवालयमा थिए । त्यतीबेला पनि आर्थिक चलखेलमा मुछिएका थिए ।


त्यस्तै, विमानस्थलस्थित अध्यागमन कार्यालय तथा वैदेशिक रोजगार विभाग जस्ता आकर्षक कार्यालयमा बस्दा उनले अकुत आर्जन गरेको उजुरी अख्तियारमा छ । अध्यागमनमा हुँदा भिजिट भिसामा सेटिङ मिलाएका थिए । वैदेशिक रोजगारमा पनि उनको असुली धन्दा व्यापक रहेको एक कर्मचारी बताउँछन् ।


यसअघि प्रधानमन्त्रीको निजी सचिव उपसचिव राखिन्थ्यो । ढुंगानाकै लागि सहसचिव राख्न थालिएको स्रोत बताउँछ । यसमा माओवादी नेता जनार्दन शर्मा, शक्ति बस्नेत र सिंहदरबारकै छेउमा होटललाई अखडा बनाएर ठूला सेटिङ गर्दै आएको बिचौलिया समूहको भूमिका रहेको स्रोत बताउँछ । योजनाअनुसार नै प्रधानमन्त्रीलाई समेत जानकारी नदिई सचिवालयबाट अनेक धन्दा सुरु भइसकेको स्रोत बताँउछ । उनकै कारण प्रधानमन्त्रीको तेस्रो कार्यकाल झन् विवादास्पद हुने संकेत देखिएको छ ।


आफुमाथिको अख्तियारको छानबिन रोक्नै लागि पनि जोडबड गरेर उनी निजी सचिव बनेको स्रोत बताउँछ । अख्तियारका प्रमुख आयुक्त प्रेम राई पनि आफ्नो निकट व्यक्ति भएको भन्दै उनले कसैले उजुरी गरेर केही नहुने भन्दै धम्काउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्