काठमाडौं । नेकपा (एमाले) निकट नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सचिव तारानिधि(रमेश) पन्त १० लाख रुपैैयाँ नक्कली नोट कारोबारको आरोपमा पक्राउ परेका छन् । उनलाई छुटाउन एमाले नेताहरुले प्रहरीलाई दबाब दिन थालेका छन् ।
सर्लाहीको नेपाल–भारत सीमामै नक्कली नोट कारोबारको डिल गरिरहेकै अवस्थामा गत ४ माघमा १० लाख सहित उनलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले नक्कली नोट कारोबारको आशंकामा पन्तलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।
पन्तको एमाले नेता महेश बस्नेतमात्र होइन, अध्यक्ष केपी शर्मा ओली र बिष्णु रिमालसँग सम्बन्ध भएको देखाउन सामाजिक संजाल फेसबुकमा तस्वीर राख्ने गरेका थिए । नक्कली नोट कारोबारमा पक्राउ परिसकेपछि पन्तले फेसबुक डिएक्टिभ गरिएको छ । पहिलेदेखि नै अपराधिक क्रियाकलापमा संलग्न पन्तलाई ओलीले पार्टीमा अविरजात्रा गरी प्रवेश गराएर जिफन्टको सचिवको महत्वपूर्ण जिम्मेवारी दिएका थिए ।
नेकपा माओवादी २०६२–०६३ मा शान्ति प्रक्रियामा आएपछि क्यासिनोहरुबाट असुली गरी अकूत सम्पत्ति आर्जन गरेका विवादित पात्र हुन् रमेश पन्त । डा. बाबुराम भट्टराईको निकट भन्दै उनी धेरै संदीग्ध गतिबिधिमा संलग्न भएको गुनासो आएपछि अखिल नेपाल ट्रेड युनियन महासंघले उनलाई कारबाही गरेको थियो ।
महासंघले कारबाही गरेपछि पन्तले महासंघका तत्कालीन अध्यक्ष शालिग्राम जम्कट्टेल(हाल बागमती प्रदेशका मुख्यमन्त्री) माथि नै २०६८ भदौ १० गते साँझ बबरमहलमा खुकुरी प्रहार गरेका थिए । रमेश भन्ने तारानिधि पन्त, इन्द्रबहादुर शाही ठकुरी, प्रभात भन्ने राम पुडासैनी, कमलबहादुर बुढाथोकी र नवीन भन्ने सुदिप कार्कीले जम्कट्टेलमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । ज्यान मार्ने उद्योग मुद्दा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेकोमा विपक्षी नेपाल सरकारले २०६९ साउन २ मा मुद्दा फिर्ता लिन निर्णय गरेको थियो ।
आफ्नै नेतामाथि नै खुकुरी प्रहार गर्ने अपराधिक क्रियाकलापमा उत्रिएपछि माओवादीले पन्तलाई कारबाही गरेको थियो । माओवादीले कारबाही गरिसकेपछि रमेश पन्त २०७० एमालेमा प्रवेश गरेका थिए । एमालेले उनलाई जिफन्टको सचिवको जिम्मेवारी दिएको थियो । जिफन्टको १० बर्षभन्दा बढी नेतृत्व एमालेका उपमहासचिव बिष्णु रिमालले गरेका थिए ।
नक्कली नोट कारोबार जस्तो गम्भीर मुद्दामा पन्तलाई छुटाउन प्रहरीमाथि दबाब दिइएको छ ।