काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराएको छ । कम्पनीले फोरजी-एलटीई र अन्य सेवाहरुमा विशेष छुट सहितका अफर ल्याएको छ । यी मध्ये रिचार्जमा बोनस बाहेकका अफरहरु आज घटस्थापना अर्थात असोज १२ देखि नै लागू भएका छन् ।
फोरजी-एलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नु हुनेछ । पहिलोपटक फोरजी-एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नुहुनेछ ।
त्यसैगरी पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराइने छ । यो सेवा अर्को सूचना जारी नभए सम्म निरन्तर रहने छ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिने छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिने छ ।
त्यस्तै प्रिपेड ग्राहकले पनि आगामी छठ (कात्तिक १६ गते) सम्म मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा unsub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा हटाउन सकिन्छ । साथै कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा ल्याउन वा हटाउन सकिन्छ । मिस्ड कल अलर्ट (एमसीए) ले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा मोबाइल फोन स्विच अफ भएको समयमा पनि पछि स्विच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलहरुको अलर्ट दिन्छ ।
रिचार्जमा बोनस
जीएसएम-सीडीएमए ग्राहकका प्रिपेड-पोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । विजया दशमीको अवसरमा आगामी असोज १८ देखि २४ गतेसम्म रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु. ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।
त्यसैगरी एमपोसबाट रु. १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५००।– वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।