काठमाडौं । मंगलबार इलामका प्रेमप्रसाद आचार्यले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए ।
३६ वर्षीय आचार्यले नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आत्मदाहको प्रयास गरेका हुन् । लगत्तै उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइयो । तर, उपचारको क्रममा बुधबार बिहान उनको मृत्यु भयो ।
आफूले गरेको कर्मबाट केही उपलब्धि हात पार्न नसकेको भन्दै नयाँ सरकारका केही प्रतिनिधिलाई सम्बोधन नै गरेर उनले सामाजिक सञ्जालमार्फत निराशा व्यक्त गरेका थिए ।
जाँदाजाँदै उनले आफ्नो आत्मवृत्तान्त र असफलताको कथा लेखेको भन्दै नागरिकसँग जोडिएका विभिन्न सवालबारे ६ हजार ५ सय शब्दको स्टाटस लेखेर सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
प्रेम आत्मदाह घटनाले १२ वर्षअघि भएको इतिहासको एउटा घटनाको अहिले व्यापक चर्चा भइरहेको छ । जसको आत्मदाहले अरब विद्रोह सुरु भएको थियो ।
के थियो घटना ?
ट्यूनीशियाको सिदी बुजिद भन्ने सहरमा एक मोहम्मद बौजीजी नाम गरेका युवा सडक व्यापारी थिए । उनले सडक पेटीमा ठेलामा फलफूल राखेर बेच्ने गर्दथे ।
पिताको देहान्तपछि परिवारका आठ सदस्यको जिम्मेवारी २६ वषीय बौजीजीको काँधमा आएको थियो । त्यहाँको सरकारले सडक व्यापारीलाई दमन गर्दै आएको थियो । त्यस्तै भयो सन् २०१० दिसेम्बर १७ मा ।
बौउजीजी बिहान १० बजे आफ्नो फलफूलको ठेला लिएर व्यापार गर्न हिँडे, उनीसँग लाइसेन्स थिएन । तर प्रहरीले लगत्तै दमन सुरु ग¥यो । प्रहरी अधिकारीले फादिया हमदीले उनको ठेला अवरुद्ध गरे, फलफूलको कार्टुन प्रहरीको भ्यानमा राखे ।
त्यसपछि पुनः फलफूल जफत गर्न ती अधिकारी ठेलामा आए । बौउजीजीले प्रतिकार गर्दा प्रहरी अधिकारीले उनलाई खुला सडकमै भुइँमा पछारी कुटे । उक्त घटनाबाट अपमानित बौउजीजी प्रहरी प्रशासनमा धाए, सहयोगका लागि हात जोडे । तर उनको पुकार कसैले सुनेन । ‘जे भयो बिर्सिदेउ, घर जाउ’को जवाफ पाएपछि उनले मृत्युको बाटो राजे ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाह गरे । घटनाको भिडियो भाइरल भयो । स्थानीय हुँदै राष्ट्रिय रुपमा हजारौं नागरिक राज्यविरुद्ध आन्दोलनमा उत्रिए ।
आन्दोलन चर्किएपछि शासक बनेर राज गरिरहेका राष्ट्रपति बेन अलीले २८ डिसेम्बरमा अस्पताल पुगेर बौउजीजीको परिवारलाई सान्त्वना दिए । तरपनि आन्दोलन रोकिएन ।
४ जनवरीमा बौउजीजीको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो । राजनीतिक आन्दोलनले २३ वर्षदेखि निरंकुश सत्ता चलाउँदै आएका राष्ट्रपति जिन अल अविदिन बिनलाई सतता छाडेर भाग्न बाध्य बनायो ।
उनी ज्यान जोगाउन भागेर अरब पुगे । ‘एउटै आगोको झिल्कोले जङ्गलमा आगो लगाउन सक्छ,’ भनेजस्तै ट्युनिसियाबाट बौजीजीले सुरु गरेको बिद्रोहको प्रभाव अन्य देशमा पनि पर्यो ।
ट्युनिसियाबाट फैलिएको आन्दोलन बहराइन, सिरिया, अल्जेरिया, इराक, सुडान, कुवेत, मोरक्को, इजरायल, ओमान, साउदी अरबलगायत देशहरुसम्म फैलिएको थियो । धेरै देशमा सरकारको नेतृत्व गरिरहेका शासक सत्ताच्यूत भएका थिए ।
इजिप्टमा ३२ वर्षदेखि शासन गर्दै आएका राष्ट्रपति होस्नी मुबारक सत्ताच्यूत भए । उक्त आन्दोलनको आगो फैलिँदै लिबिया पुग्यो । ३२ वर्षदेखि एकलौटी शासन चलाउँदै आएका कर्णेल गद्दाफीलाई पनि त्यहाँका जनताले घुँडा टेकाए । त्यहाँको आन्दोलन करिब ९ महिना चलेको थियो भने ३० हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।