काठमाडौँ, १४ असोज । निर्मला पन्त प्रकरणको अनुसन्धान ‘यू टर्न’ हुने सम्भावना देखिएको छ । गृह मन्त्रालयले विज्ञ टोली बनाएपछि त्यस्तो सम्भावना देखिएको छ । जसबाट विगतमा कारबाहीमा परेका प्रहरीले न्याय पाउने र गल्ती गर्ने प्रहरी भने कारबाहीमा पर्ने देखिएको छ ।
एक वर्ष लामो अनुसन्धानबाट सो घटनाका अभियुक्त दिलिपसिंह विष्ट नै भएको निष्कर्षमा गृह मन्त्रालय पुगेको छ । विगतमा विष्टको डिएनए नमिलेपछि छुटेका थिए । तर, राष्ट्रिय मानवअधिकार आयोगको छानबिनले नै डिएनए परीक्षणमै त्रुटि भएको ठहर गरेको थियो । पछिल्लो समय दिलीपलाई त्यो बाटो हिँडेको देख्ने व्यक्तिहरुले समेत प्रहरीसँग कागज गरेका छन् । सबै अनुसन्धानले मुख्य संकित व्यक्ति दिलिप नै भएको देखाएपछि अनुसन्धान फेरि उनीमाथि नै केन्द्रित हुने भएको हो ।
स्रोतका अनुसार डिएनए परीक्षणमै त्रुटि हुँदा विष्टले उन्मुक्ति पाएको थप छानबिनले देखाएको छ । त्यसकारण राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व प्रमुख डा जीवन रिजालको नेतृत्वमा विज्ञ टिम गठन गरी यसको यकिन गर्न लागिएको छ । सो टिमले डिएनएन परीक्षणा त्रुटि नै भएको रिपोर्ट दिएमा प्रहरीले विष्टमाथि मुद्दा चलाउने बाटो खुल्ने छ । मृतक निर्मलाकी आमाले बिष्टमाथि नै किटानी जाहेरी दिइसकेकी छिन् ।
यो अवस्थामा केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा कार्यरत एसएसपी राकेश सिंह कारबाहीमा पर्ने निश्चित छ । उनले वंश जाँच गर्ने प्रविधिमार्फत डिएनए परीक्षण गरेका थिए । मानवअधिकार आयोगले नै त्यो गल्ती औँल्याएको थियो । त्यसकारण निर्मला प्रकरणमा उनीमाथि कारबाही हुने देखिएको छ ।