व्यवस्था बदलियो, अवस्था बदलिएन । अवस्था बदल्नकै लागि नेपालमा धेरै राजनीतिक परिवर्तनहरु भए । तर ती राजनीतिक परिवर्तनहरुले पनि आम नागरिकको अवस्था बदल्न नसकेका कारण भुइँमान्छे चरम गरिबी, अभाव र शोषणमा पर्दै आएका छन् ।
राजनीतिक अवस्था परिवर्तन हुनु भनेको त्यसले सामाजिक, आर्थिकरुपले नागरिकको जीवनमा आमूल परिवर्तन गर्नु हो । विश्वका जति पनि मुलुकमा व्यवस्था परिवर्तन भएका छन्, आज ती मुलुकहरु आर्थिक सम्पन्न भएका छन् ।
छिमेकी चीन र भारतको आर्थिक अवस्था पनि राजनीतिक परिवर्तन पछाडि निकै माथि उठेको छ । तर, २००७ सालदेखि २०६२–६३ सालको आन्दोलनले नेपालमा यति ठूलो राजनीतिक परिवर्तन ल्याउँदा समेत नेपाली नागरिक भोक, रोग र शोकमा डुब्नुपर्ने अवस्था छ । यस्तो अवस्था कसले ल्यायो भन्दा त्यसको दोष शासकहरुमाथि थोपर्नुपर्ने हुन्छ ।
हरेक राजनीतिक आन्दोलनको सफलतासँगसँगै परिवर्तनका संवाहक राजनीतिक दलका नेता, कार्यकर्ता इमान्दार भइदिएको भए प्रेमप्रसादहरुले सार्वभौम संसद् भवन अगाडि आत्मदाह गर्नुपर्ने अवस्था आउने थिएन सायद ।
हरेक राजनीतिक आन्दोलनको सफलतासँगसँगै परिवर्तनका संवाहक राजनीतिक दलका नेता, कार्यकर्ता इमान्दार भइदिएको भए प्रेमप्रसादहरुले सार्वभौम संसद् भवन अगाडि आत्मदाह गर्नुपर्ने अवस्था आउने थिएन सायद ।
मुलुक कानुनी शासनमा अगाडि बढेको भए प्रेमप्रसादहरुले समयमै न्याय पाउने थिए । व्यापार, व्यवसायको क्रममा उनले जति समस्या भोगे, ती समस्याहरुको समयमै उपचार भइदिएको भए आफैँले आफैँलाई आगो लगाएर जल्नुपर्ने थिएन ।
देशमा कानुन छ, सरकार छ, अदालत छ, प्रशासन छ सबै कुरा छ । ती निकायहरु नागरिकको समस्याप्रति समयमै सचेत भइदिएको भए यस्ता दुर्घटना निम्तने थिएन ।
जीवन भन्नु नै सुख, दुःखको संयोग हो । संघर्षबाटै सफलता प्राप्त हुने हो । त्यसैले जीवनमा थाक्नु हुँदैन । कतै बुद्ध भनेको कुरा पढेको थिएँ– जन्म नै दुःखको कारण हो । जन्म र मृत्युबीचको संघर्षलाई बुद्धले आफैँले नजिकबाट भोगे र बुद्धत्व प्राप्त गरे । यसर्थ, प्रेमप्रसादले आत्मदाह गर्नु ठीक थिएन । काम गर्दै जाँदा सफलता, असफलता हात पर्दै जान्छ । असफलताबाटै सफलता हात पर्ने हो । सबै सफल भइदिएको भए संसार नै बेग्लै हुने थियो ।
एक जना प्रेमप्रसादले आत्मदाह त गरे, तर उनको आत्मदाहले समस्या समाधान भयो त ? उनको आत्मदाह उनको परिवारको लागि भारी बनेको छ । त्यो भारी बिसाउन उनको परिवारले ठूलै संघर्ष गर्नुपर्छ ।
सामाजिक सञ्जालमा प्रेमप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्नेहरुले अब कसैले आत्मदाह गर्नु नपरोस् भनेर लेखे । हरेक दिनको सञ्चारमाध्यमको समाचार पढ्ने हो भने यस्ता थुप्रै समस्या भेटिन्छन् । बेचिएका चेलीका कथा, उखु किसानको व्यथा, वैदेशिक रोजगारीमा जाने युवाहरुको दर्दनाक अवस्था, मिटरव्याजीहरुको चर्को शोषणले आज पनि समाज आक्रान्त छ । पीडितहरु पीडामै छटपटाइरहेका छन् । गरिब, निमुखा नागरिकका लागि न्यायको ढोका बन्दजस्तै छ ।
हो, सरकार यस्ता कुरामा सजग हुनुपर्छ । सामाजिक अपराधीहरुमाथि ठाउँका ठाउँ कारबाही हुनुपर्छ । अनि मात्र समाजले राज्यबाट न्यायको अनुभूति गर्छ । जब नागरिक न्यायबाटै विमुख हुन्छ, तब उसले या त विद्रोह गर्छ या त मृत्युको बाटो रोज्छ ।
त्यसैले प्रमुख कुरा कानुनको पालना हो । सरकारले हरेक नागरिकलाई कानुनको प्रत्याभूति गर्ने हो भने समाज सुध्रन्छ । निराशामा बाँचेकाहरुमा पनि बाँच्ने आशा जाग्छ । सरकार नागरिकको अभिभावक हो । हरेक नागरिकप्रति सरकार उत्तरदायी हुनैपर्छ ।
धेरै लामो गन्थन होइन, मलाई न्याय चाहियो भन्नेहरुलाई न्याय दिन सकियो भने मात्र राज्यको अनुभूति नागरिकले गर्छ र त्यही नागरिकले समाजलाई बलियो बनाउँछ ।