काठमाडौं । पुस १० गते अप्रत्यासित रुपमा राजनीतिक समीकरण फेरियो । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन टुट्यो । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने र जनमतबाट पहिलो शक्ति बनेको नेपाली कांग्रेस एकैपटक सत्ताबाहिर पुग्यो ।
कांग्रेस र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटे पनि पहिले को प्रधानमन्त्री हुने भन्नेमा शेरबहादुर देउवा र प्रचण्डबीच कुरा मिल्न सकेन । दुवैले अडान नछोडेको अवसर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाए । ओलीको पहलकदमी र समर्थनमै प्रचण्ड गठबन्धन तोड्दै प्रधानमन्त्री बने ।
लगत्तै एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा संसदबाट विश्वासको मत लिए । प्रतिपक्षी दलको बेन्चमा पुगेको कांग्रेसले पनि सरकारलाई विशवासको मत दिन पुग्यो । कांग्रेसले संसदमा विश्वासको मत दिएर सात दलीय गठबन्धनको पोखरीमा ढुंगा हानेपछि सुरु भयो प्रचण्डकाे अलमल ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमबाट प्रधानमन्त्री ‘प्रचण्ड’ अलमलमा परेको प्रस्टै देखिन्छ । सत्ता साझेदार दल एमालेले राष्ट्रपति पाउनुपर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय पाउनुपर्ने र नेपाली कांग्रेसले पनि राष्ट्रपति पाउनुपर्ने अडान राखेको छ ।
नेताहरुका अनुसार राष्ट्रपति एमालेको भागमा परेको छ । तर, ९ पुससम्म आलोपालो प्रधानमन्त्रीको पहिलो कार्यकाल छोड्न समेत तयार नरहेको कांग्रेसले त्यसको १५ दिनभित्रै विश्वासको मत दिएपछि परिस्थिती फेरिएको हो । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको वकालत गर्न थालेका छन् ।
यता नागरिकता विवादका कारण गृहमन्त्री पदबाट हटेका रास्वपाका सभापति रवि लामिछानेले पुनः आफूलाई गृह मन्त्रालयमै फर्काउनुपर्ने नत्र आफ्नो पार्टी सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड राहदानीलगायत विवाद कायमै रहेकाले रविलाई गृहमन्त्री दिन चाहादैनन् ।
यता एमाले अध्यक्ष ओली सहमतिअनुसार पुनः रविलाई गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन् । यस्तै राष्ट्रपति पद पनि आफूले पाउनुपर्ने अडान एमालेले राखेका कारण प्रधानमन्त्री प्रचण्ड अलमलिएका छन् । माओवादी अध्यक्ष प्रचण्ड भने कांग्रेससमेतको सहमतिमा सर्वस्वीकार्य व्यक्ति राष्ट्रपति बनाउनुपर्ने पक्षमा छन् ।
तेस्रोपटक प्रधानमन्त्री बनेपछि छोटो भाषण शैली अपनाएका प्रचण्डको सार्वजनिक अभिव्यक्तिले सत्ता साझेदार दलहरुभित्रै अविश्वासको वातावरण सिर्जना भएको छ । अझ गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनीसँगै सत्ता गठबन्धन संकटमा परेको बुझ्न सकिन्छ ।
जबकी १० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने क्रममा नै एमालेले राष्ट्रपति र सभामुख आफूले पाउने सुनिश्चित गराएको थियो । त्यसैदिनको सहमति अनुसार, सातै प्रदेशमा सरकार निर्माण भएको छ । तर कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रचण्डको अभिव्यक्ति बदलिएको छ, उनले कुनै निर्णय लिन सकेका छैनन् ।
एमालेलाई राष्ट्रपति दिउँ त उसको भर छैन । कांग्रेसलाई दिउँ त एक महिना अघि मात्रै शेरबहादुर देउवाले दिएको धोका विर्सिएका छैनन् । वर्तमान सत्ता गठबन्धन कायम रहेमा अढाई वर्षपछि सत्ता एमालेको कब्जामा पुग्नेछ ।
केपी ओली प्रधानमन्त्री बनेपछि सभामुख, प्रधानमन्त्री र राष्ट्रपति तीनै पद एमालेको कब्जामा पुगे एदेशमा जे पनि हुनसक्छ भन्ने प्रचण्डको बुझाई छ । ओलीको पालामा प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा चालिएका अनेक अनैतिक कदमहरू त्यसका प्रमाण हुन् ।
प्रचण्डको निर्णयप्रति एमाले अध्यक्ष ओली असन्तुष्ट छन् । उनले पुस १० को सहमति अनुसार एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्नुपर्ने अडान राखेका छन् ।
पछिल्लो समय उत्पन्न राजनीतिक घटनाक्रमका कारण प्रचण्ड ओलीबीचको भेटवार्ता अझ बाक्लिएको छ । तर, निष्कर्षहीन भेटवार्ता तीव्र बन्नु र सत्तारुढबीच सहमति जुटिसकेको विषयमा आफैं राष्ट्रिय सहमतिको प्रशंग ल्याउनुले प्रधानमन्त्री प्रचण्ड अलमलमा फसेको अनुमान लगाउन सकिन्छ ।