चित्र हेरेर चरित्र थाहा पाउन सकिन्न । चित्र हेरेर भित्रको कथा भन्न थालियो भने त्यो कथा आदर्शवादी हुन्छ । सतही हुन्छ ।
रूपको वर्णन गरेर गीत बन्ला । कविता लेखिएला । तर, चित्र हेरेर राजनीतिचाहिँ बन्दैन । खैर, यस स्तम्भमा हाल चर्चामा रहेका रवि लामिछानेबारे उठेका केही सार्वजनिक सवालउपर चर्चा गर्ने प्रयास गरिने छ ।
रवि लामिछाने एक व्यक्ति होइन, प्रवृत्तिको रूपमा विकास भएको देखिन्छ । मैले बुझेको र पढेको लोकतन्त्रले राजनीतिमा कुनै ‘हिरोइज्म, पपुलिज्म र स्टन्ट’को परिकल्पना गर्दैन । जनता झुक्याउने खेललाई लोकतन्त्रले स्वीकार गर्दैन । लोकरिझाइँलाई लोकतन्त्रले मान्दैन ।
स्मरण रहोस्, मैले यसअघि ‘लोकतन्त्रमाथि फेरि खतरा’ शीर्षकको स्तम्भमा पनि ‘दर्शनविनाका दलहरूबाट लोकतन्त्रमाथि खतरा छ’ भनेर लेखेको थिएँ ।
लोकतन्त्रविरुद्ध नेपालमा रवि प्रवृत्ति देखापरेका छन् । अनेकानेक शब्दजाल बुनेर जनतालाई गुमराहमा राख्ने, जनतालाई उक्स्याउने, उत्तेजित पार्ने, सिद्धान्त विचार र असत्यलाई पनि सत्यमा प्रतिस्थापन गर्न खोज्ने, कानुनभन्दा माथि हुँ ठान्ने, भीड र हावादारी गफको जगमा उभिने, अरूलाई गाली गरेर सत्ता हत्याउने, आफू नैतिकहीन भएको पत्तो नपाउने, तर, अरूलाई नैतिकताको पाठ सिकाउने प्रवृत्तिका रूपमा रवि प्रवृत्ति देखापरेको छ । जो देशका लागि घातक छ । लोकतन्त्रका निम्ति दुःखद् छ ।
भनिन्छ, ‘जनता इतिहासका निर्माता हुन् ।’ तर, नेपाली जनताले कस्तो इतिहास निर्माण गर्न खोजेका हुन् ? रविहरुको दर्शनबिनाका दलहरूलाई रोजेर विज्ञानलाई नजरअन्दाज गरेर के गर्न खोज्दैछन् जनता ?
अर्को कुरा, नेपालमा सत्तामा पुगेपछि मात्रै व्यक्तिको चरित्र थाहा हुन्छ, यो अर्को विडम्बना हो । सिंह बनेर सिंहदरबार छिर्छन, स्याल बनेर निस्किन्छन् । हाँस्दै जान्छन्, रुदै फर्किन्छन् । नैतिक तागतका साथ जान्छन्, नैतिकहीन पुष्टि भएर निस्किछन् ।
म यो देशको सच्चा नागरिक हुँ भन्दै छिरेकाहरु अनागरिक पुष्टि भएर बाहिन्छन् । यसरी हेर्दा लाग्छ, सिंहदरबारसँग अपरम्पार लीला छ । त्यही अपरम्पार लीलाले रवि लामिछाने प्रवृत्तिको असली मुखुण्डो उघारिदियो ।
रविहरूले अरुलाई राष्ट्रघाती देख्छन् । अरुलाई अनैतिक देख्छन् । तर, आफ्नो अनुहार ऐनासामु उभ्याउने नैतिक तागत उनीसँग छैन । यो कुरा कुनै पूर्वाग्रहमा भनिएको होइन । जनता पुराना दल र नेताहरुको व्यवहारका कारण निराश पक्कै छन् । त्यसको फाइदा दर्शनविनाका अराजनीतिक दलहरुले उठाएका हुन् ।
रविहरुले पाएको मत एक प्रकारले दलविरोधी जनमत हो । उनको दलबिना पनि सरकार बन्ने थियो । आफू अपराधबाट जोगिन उनले गृह मन्त्रालय रोजे । सरकारमा गैहाले पनि आफूमाथिको आरोप छानविन गर्न सघाउनु पथ्र्यो । तर यस्तो गम्भीर कुरा रविहरुले बुझ्न चाहेको देखिएन ।
रविले २०७० सालमा अमेरिकी नागरिकता पाए । उनी नेपाल फर्केपछि सञ्चारकर्म गर्दैगर्दा विवादमा परेपछि २०७५ सालमा मात्रै नेपालबाटै अमेरिकाको नागरिकता त्यागे । तर, त्यसअघि २०७३ सालमा नै उनले ‘कायम नभएको’ नेपाली नागरिकताबाट नेपाली पासपोर्ट लिए । २०७३ सालदेखि २०७५ सालमा अमेरिकाको नागरिकता नत्याग्दासम्म उनको साथमा एकसाथ दुई मुलुकको पासपोर्ट रहेको देखिन्छ ।
लामिछानेले २०७३ सालमा कायम नभएको नेपालको नागरिकताको आधारमा पासपोर्ट लिएका हुन् । राहदानी ऐन, २०७६ को दफा २१ (क) मा झुटा विवरण दिई राहदानी लिएमा कसुर गरेको मानिने व्यवस्था छ । त्यसको पुष्टि भएमा ऐनमा २ देखि ५ लाख जरिवाना, १ देखि ३ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।
लामिछानेको नागरिकतासँगै पासपोर्टमाथि छानविन हुनुपर्ने उजुरी पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विचाराधीन छ । उनले झुटा विवरण लिई राहदानी लिएको उजुरी जिल्ला प्रशासन कार्यालयले छानविनका लागि प्रहरीमा पठाएको छ ।
यस्तो कानुनी व्यवस्थालाई नजरअन्दाज गरेर रविका समर्थकहरुले रविमाथि प्रश्न गर्नेहरुलाई झोले, देश बेच्ने, राष्ट्रघातीजस्ता शब्द प्रयोग गरेर गाली गरिरहेका छन् । समर्थक हुन पाइन्छ । तर, समर्थकको नाममा अन्धभक्त हुन पाइँदैन ।
अन्धभक्तिपना दास चेतनाको पराकाष्टा हो । सुतेको चेतनाको उपज हो । झोले भनेको विचारको सिपाही हो । कुनै विचारको दल छ, त्यसको कार्यकर्तालाई पश्चगामी, प्रतिगामी, दक्षिणपन्थीहरूले हेपेर झोले भन्छन् भने त्यसमा आपत्ति जनाउनुपर्ने कारण छैन । त्यसैमा माक्र्सवादी समाजवादको झण्डा उठाएकाहरुले त झन् दुःख मान्नुपर्ने के छ र ?
दुनियाँमा आजको दिनसम्म पूजा गर, प्रश्न नगर भन्ने मानक जारी छ । जो मानव दुनियाँकै निम्ति खारेजयोग्य भाष्य हो । हाम्रो देशमा त झन् प्रश्न गर्नेहरूलाई दुस्मनजस्तो व्यवहार गरिन्छ । लोकतन्त्रमा प्रश्न गर्नु र प्रश्नको जिम्मेवार जवाफ माग्नु अधिकार हो । आफूभन्दा ठूलो मान्छे वा व्यक्तिलाई प्रश्न गर्न पाइँदैन । केवल पूजा गर्नुपर्छ । यहाँको बुझाइ यस्तो छ । तर, सत्य त्यसो होइन ।
मानव दुनियाँमा सबैका पक्षमा बोल्न पाइन्छ । सबैका विपक्षमा प्रश्न गर्न पाइन्छ । अर्को कुरा मैले मात्रै बोलेर के हुन्छ ? मैले मात्रै लेखेर के हुन्छ ? सोच्नु हुन्न । सुरूमा सत्यका बारेमा बोल्ने आँट थोरैले मात्रै गर्छन् । सुतेको चेतना र लुकेको चैतन्यले सत्य के हो ? गलत के हो ? केही जान्दैन । त्यस्तो चेतनाले केवल सतही कुरालाई आधार मान्छ । सुतेको चेतना बोकेर बाँचेकाहरूले सत्य कुरालाई सहजै स्वीकार गर्दैनन् पनि ।
जनताद्वारा हतारमा अनुमोदन
रविहरूको लोकरिझाइँबाहेक, अरुलाई गाली गर्नुबाहेक, अरुलाई अन्यायमा पार्नुबाहेक, जनताले यसरी पत्याउनुपर्ने अर्को के राजनीतिक योगदान र कारण थियो ? पछिल्लो समयमा जो जतिले राज्य सरकारलाई र पुराना नेताहरुलाई गाली गरे, तिनीहरुलाई जनताले जिताएर सांसद बनाए ।
माथि भनिएझैं जनताले चित्र हेरेर भोट दिए । गत मंसिरमा सम्पन्न चुनावमा यदि संविधानको भावना र राजनीतिक मुद्दाको हिसाबमा जनताले भोट दिएका हुन्थे भने नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बनेको हुन्थ्यो ।
‘यात्रा समृद्धिको, लक्ष्य समाजवादको’ भन्ने विशिष्ट नारा लिएर उदाएको एस पार्टी राष्ट्रिय पार्टी बन्न सकेन । कुनै दर्शन छैन, प्रदेश खारेज गर्ने भनेको छ, स्टन्ट गरेको छ, त्यस्तैलाई भोट दिएर जनताले हतारमा अनुमोदन गरे ।
भनिन्छ, ‘जनता इतिहासका निर्माता हुन् ।’ तर, नेपाली जनताले कस्तो इतिहास निर्माण गर्न खोजेका हुन् ? दर्शनबिनाका दलहरूलाई रोजेर विज्ञानलाई नजरअन्दाज गरेर के गर्न खोज्दैछन् जनता ?
त्यतिमात्रै होइन, संविधानविद् भीमार्जुन आचार्यले समेत रविहरुको उदयलाई थप प्रश्रय दिए । रविहरूको असलीयत नबुझेर जनतालाई भोट दिन लगाए ।
‘नो नट् अगेन’, ‘बा’ र नानीका ‘बा’ हरूलाई चुनौती दिँदै उदाएका र आफूलाई नयाँ राजनीतिक शक्ति ठान्नेहरुले त्यत्रो भोट कहाँबाट आयो ? त्यो भोट कुन मनोविज्ञानबाट प्रेरित छ ? त्यतातिर विश्लेषण गर्नु जरुरी छ ।
रविहरुलाई विकल्पका रुपमा जनताले भोट दिए, तर, रविहरुले भोटको चरम दुरुपयोग गरे । ‘बा’हरुसँग गएर सत्ता चाहियो, उपप्रधान तथा गृहमन्त्री चाहियो भनेर ‘बार्गेनिङ’ गरे । जुन जनताप्रतिको धोका हो ।