करिब एक दशकपछि कमला लिङ्देन कलाकारितामा ‘कम्ब्याक’ भएकी छन् । २०६९ को अन्तिमतिर ‘पिरती यस्तै हुन्छ’ नामक नेपाली फिल्ममा अभिनय गरेपछि कला क्षेत्रबाट हराएकी कमला फिल्म निर्माण गर्ने सोचसहित कम्ब्याक भएकी हुन् । पुर्खौली इलाम माङ्सेबुङकी कमला भन्छिन्, ‘फिल्म निर्माण गर्ने उद्देश्यले पुनः कला क्षेत्रमै फर्किएकी हुँ। चाँडै फिल्मको घोषणा गर्नेछु ।’
पहिलो पटक ‘आहा चाउचाउ’को विज्ञापनमा मोडलिङ गरेर कला क्षेत्रमा प्रवेश गरेकी कमलाले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । रहर र सौखविना पनि त्यो बेला कलाकारिता अँगालेकी कमला भन्छिन्, ‘कलाकारितालाई निरन्तरता दिएको भए हुनेरहेछ भन्ने अहिले लागिरहेको छ ।’ कला क्षेत्र भनेको नाम, दाम र सम्मान पाउने माध्यम भएको उनको बुझाइ छ । कलाकार कमला लिङ्देनसँग दृष्टिको जम्काभेट :
कलाकारिता क्षेत्रबाट लामो समय हराउनुभयो, कहाँ हुनुहुन्थ्यो ?
अहिले काठमाडौंमै छ्ु । एक वर्षजति चाहिँ युके बसे । त्यसपछि फर्केर काठमाडौंमै व्यवसायी गर्दै आएकी छु ।
कलाकारिता क्षेत्रबाट कति वर्ष हराउनुभयो ?
१०/११ वर्ष नै भयो होला । २०६९ सालमा फिल्म ‘पिरती यस्तै रहेछ’ गरेको थिएँ । त्यसपछि यो क्षेत्रमा काम गरिनँ ।
एक दशक ग्यापपछि कम्ब्याक हुने सोच कसरी आयो ?
घुमिफिरी यही क्षेत्रका मानिसहरुसँग भेटघाट हुन थाल्यो । आखिर जे गरेपनि व्यवसायी नै हो । त्यसैले एउटा फिल्म बनाउन त भन्ने सोचले कम्ब्याक भएकी हुँ । पछिल्लो समय नेपाली फिल्मको बजार पनि राम्रै छ । त्यसैले पनि एक पटक लगानी गरौँ भन्ने सोच आयो ।
सुरुमा रहर र इच्छाले नै कलाकारितामा लाग्नुभएको थियो ?
मलाई कलाकार बन्ने इच्छा थिएन । म काकासँग बसेर पढ्दैथिएँ । काका पनि कलाकार हुनुहुन्थ्यो । त्यसैले उहाँलाई भेट्न कला क्षेत्रका मानिसहरु आइरहन्थे । कतिपयले मोडलिङका लागि प्रस्ताव राख्थेँ । ती प्रस्तावहरुलाई नाइँ भन्न नसकेपछि मोडलिङ गर्न थालेँ । मैले पहिलोपटक ‘आहा चाउचाउ’को विज्ञापनमा मोडलिङ गरेकी हुँ । त्यसपछि म्युजिक भिडियोहरुमा समेत अफर आउन थाल्यो ।
कति वटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभयो ?
एक दर्जन जति खेलेकी छु । त्यो बेला पढ्दै पनि थिएँ । त्यसैले अफर आएका सबै भिडियो खेल्न पाइनँ । त्यो बेला फेन्सी शप पनि चलाउँथे । समय नै नहुने । समय नभएकै कारण तीन वटा फिल्म रिजेक्ट गरेकी थिएँ ।
तपाइँले एउटा फिल्म गर्नुभएको थियो । त्यो फिल्मबाट कस्तो रेश्पोन्स पाउनुभएको थियो ?
मैले खेलेको फिल्म ‘पिरती यस्तै हुन्छ’ हो, जुन देशव्यापी रिलिज नै भएन । अझै भएको छैन होला । फिल्मको काम सक्नेवित्तिकै म युके गएँ । मैले सुनेअनुसार पुर्वतिर र केही देशहरुमा प्रिमियर गरियो रे । त्यसैले त्यो फिल्मबाट मैले केही प्रतिक्रिया नै पाइनँ ।
कलाकारितालाई निरन्तरता नदिएकामा पछुतो लागेको छ कि छैन ?
पछुतो लागेको छैन । तैपनि निरन्तरता दिएको भए यो क्षेत्रमा केही गर्थेँ कि जस्तो लागिहरेको छ किनकि कलाकारिता क्षेत्र भनेको नाम र सम्मानसँगै दाम पनि कमाउने प्लेटफर्म हो । त्यसैले दाम नभएपनि यही क्षेत्रमा सक्रिय रहेको भए नाम त कमाउँथे जस्तो लाग्दैछ ।
व्यवसायी पनि गर्छु भन्नुहुन्छ । कस्तो व्यवसायी हो ?
दुई तीन वटा व्यवसायीमासंलग्न छु । म मनि ट्रान्सफर र पेवल ब्लक चलाउँदै आएकी छु । केही समय यता भने कन्ट्रक्शन कम्पनी पनि सुरु गरेकी छु । जसमा केही साथीहरु पनि छन् । हाम्रो कन्ट्रशनबाट पुल निर्माणको काम गर्दै आएको छ ।
व्यवसायीमै व्यस्त हुनुहुँदोरहेछ, फिल्ममा समय दिन सक्नुहुन्छ ?
सकिन्छ । फिल्म निर्माण पनि व्यवसायी नै हो । व्यवसायी नै भएपछि समय त दिनु परिगो नि ।
निर्माण मात्र गर्ने कि अभिनय पनि गर्ने सोच छ ?
मलाई सुहाउँदो भूमिका छ भने अभिनय पनि गर्छु ।
नेपाली फिल्म कतिको हेर्नुहुन्छ ?
नेपाली मात्र नभएर हिन्दी फिल्म पनि म खाशै हेर्दिन । फेसबुक, टिकटक, युट्युबलगायतका समाजिक सञ्जालमा फिल्मका टिजरहरु चाहिँ हेर्छु । आजभोलि बन्दै आएका फिल्मका टिजरहरु हेर्दा नेपाली फिल्म पनि राम्रो बन्न थालेछ जस्तो लाग्छ ।
फिल्म बनाउने सोच भएकाले त हेर्नु पनि प-यो नि ?
फिल्म बनाउने सोच पहिले थिएन । अहिले आएरमात्र फिल्म बनाउने सोच बनाएकी हुँ । तर, मलाई नेपाली फिल्मको वर्तमान बजारको अवस्थाबारे समाचारहरुबाट थाहा पाइरहेको हुन्छु ।
अहिलेको नेपालको राजनीतिबारे कतिको जानकारी छ ?
यो राजनीतिमा चासो नदिउँ भन्दा पनि नहुने रहेछ । त्यसैले धेरे–थोर थाहा छ । हाम्रो देशको राजनीति अवस्थाप्रति युवा सन्तुष्ट छैनन् । केही गछौँ भनेर नयाँ आएकाहरुको अवस्था पनि पुरानैको ताल देखिन्छ । मलाई केही राजनीति दलले बोलाइपनि रहेका छन् । त्यसका लागि पनि सोच्दैछु ।
कलाकारितालाई निरन्तरता दिने कि एउटा फिल्म बनाएपछि फेरि गायब हुने हो ?
अब गायब हुँदिनँ । त्यत्रो वर्ष ग्याप भएर आएकी हुँ । फेरि कला क्षेत्रकै मानिसहरुसँग कनेक्शन भएकी छु । त्यसैले निरन्तर काम गर्दै जानेछु ।