काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोल एक सय वर्ष पुगेको अवसरमा २४ देखि २६ गतेसम्म संचालन सो सम्मेलन हुँदैछ ।
कार्यक्रममा भाग लिन प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गरेका छन् । त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।