काठमाडौं। गत महिना काठमाडौंमा भएको नेपाल टी–२० लिगमा ‘स्पट फिक्सिङ’को आरोपमा थप एक पक्राउ परेका छन् । प्रहरीले वीरगन्जका मुकेश गुप्तालाई पक्राउ गरेको हो । उनले एक खेलाडीलाई ‘स्पट फिक्सिङ’का लागि प्रस्ताव गरेको पुष्टि भएपछि प्रहरीले पक्राउ गरेको हो । उनी वीरगञ्जका त्रिकेटर समेत हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले क्रिकेटर मोहम्मद आदिल आलम र महबुब आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । नेपाल टी–२० लिग खेलेका आदिलले केही बल फिक्सरको योजनाअनुसार ‘नो बल’ र ‘वाइड’ फालेको सिआइबी निष्कर्ष छ । पूर्वखेलाडी महबुब आलमले बुकी र खेलाडीबीच मध्यस्थकर्ताको भूमिका निभाएका थिए । प्रहरीले आलमसँग बयानको क्रममा पनि सो तथ्य पत्ता लगाएको छ । कम्तीमा दुई खेलाडीलाई उनले फिक्सिङको प्रस्ताव गरेका थिए ।
सिआइबीले ‘स्पट फिक्सिङ’ भएको ६ वटा खेलमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । तर, आर्थिक कारोबार भएको प्रमाण भने भेटाउन सकेको छैन । सिआइबी स्रोतका अनुसार फिक्सिङमा १० जनाको संलग्नता देखिएको छ । जसमा धेरैजसो नेपाल क्रिकेट संघ (क्यान)सँग मिलेर नेपाल टी–२० लिग गराउने भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस्सँग आबद्ध व्यक्तिहरू छन् ।
त्यस्तै, एक खेलाडीलाई व्यवस्थापन टिमका सदस्यबाट प्रस्ताव गएको थियो, ती व्यक्ति फरारै छन् । एक टिमका म्यानेजरसमेत मिलेको पाइएको छ । जसअनुसार एक खेलाडीले निश्चित रन बनाउन लगाएर ‘स्पट फिक्सिङ’ गराएका थिए । सिआइबीले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार यो प्रकरणमा अनुसन्धान गरिरहेको छ । यस्तो फिक्सिङमा तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।