Logo
Logo

सुन तस्करीबाट अकुत कमाएका भन्सारका कर्मचारीलाई जेल सजाय


1.1k
Shares


काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठ गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र खुसी प्रसाद थारुको इजलासले मुद्दा दायर भएको ४ वर्षपछि उनलाई दोषी ठहर गरेको हो ।


यस मुद्दालाई ४ दिनसम्म हेर्दाहेर्दैमा राखी सुनुवाई गरेपछि यस्तो फैसला आएको हो । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार श्रेष्ठलाई एक वर्ष तीन महिना कैद र दुई करोड २८ लाख ७४ हजार १ सय ३२ रुपैयाँ २० पैसा जरिवाना हुने फैसला छ । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ माघ २०७५ मा मुद्दा दर्ता गराएको थियो ।

श्रेष्ठले २०५३ चैत ५ मा सरकारी सेवा प्रवेश गरेका थिए । उनले अनुसन्धान अवधिमा ९ करोड ६३ लाख रुपैयाँ वैध रुपमा आर्जन गरेको देखिएको थियो भने १९ करोड ७४ लाख ५५ हजार रुपैयाँभन्दा बढी रकम व्यय तथा सम्पत्ति आर्जन गरेको खुलेको थियो । श्रेष्ठले स्रोत नखुलेको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति गरी १४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको बिगो मागदाबी गर्दै मुद्दा दायर भएको हो ।


काठमाडौंस्थित त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट अवैध रुपमा ३३ किलो सुन तस्करी अभियोगको अनुसन्धानका क्रममा उनी निलम्बनमा थिए । २७ पुस २०७३ देखि निलम्बनमै रहेका बेला उनीमाथि अख्तियारले छानबिन थालेको थियो । सुन तस्करीमा उनले बारम्बार सघाएको खुलेपछि उनको सम्पत्तिमाथि छानबिन भएको थियो ।


श्यामकृष्ण आफूले अवैध रुपमा कमाएको सम्पत्ति जेठी श्रीमती तारादेवी, कान्छी श्रीमती रेखा, बुवा ज्ञानकृष्ण र आमा चन्द्रदेवी च्वामु श्रेष्ठका नाममा राखेको अख्तियारको दाबी थियो । साथै भाइ रामकृष्ण श्रेष्ठ र बुहारी रविना प्रधानाङ्गका नाममा लुकाएको भन्दै उनीहरुसमेतलाई जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको थियो ।
उनलाई प्रहरीले पनि सुन तस्करीको मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्