काठमाडौं । भारतको सर्वोच्च अदालतले सिक्किमका नेपालीलाई विदेशी मूलका भनी गरेको फैसलाको अंश हटाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सिक्किममा आयकर छुटसम्बन्धी गत महिना गरिएको एक फैसलामा सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनी गरिएको व्याख्यालाई बुधबार सर्वोच्चले हटाएको हो ।
सर्वोच्चले सुरुको निवेदनमा उक्त शब्द त्यसरी नै उल्लेख भएकाले फैसलामा पनि समावेश हुन पुगेको जनाएको छ । सिक्किमका नेपाली समुदायलाई विदेशी मूलका भनेर सर्वोच्चको फैसलामा लेखिएपछि सिक्किममा यसको तीव्र विरोध भएको थियो । त्यहाँको नेपाली समुदायले प्रदर्शनसहित सिक्किम बन्दको समेत आह्वान गरेका थिए ।
सिक्किम सरकारले सर्वोच्चको फैसलाको उक्त अंश पुनरावलोकन गर्न निवेदन दिएको थियो । सन् १९७५ मा भारतमा विलय भएको सिक्किममा नेपाली भाषीको जनसंख्या उल्लेख्य छ ।