तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले एक सार्वजनिक भाषणमा भने– ‘भ्रष्टाचारीलाई ऐयाँ, आच्छु पनि भन्न नपाउँदै ठाउँका ठाउँ कारबाही गर्छु, भ्रष्टाचार नियन्त्रण गर्नु मेरो प्रमुख दायित्व हो । म त्यसमा दृढ छु ।’
नुनदेखि सुन खरिदसम्ममा भष्ट्राचारको चरम पीडामा रुमल्लिएका कार्यकर्ता सामु देशको प्रधानमन्त्री र पार्टी अध्यक्षले यस्तो भाषण गर्दा थपडीले मञ्च नै गुञ्जयमान बन्यो । माहोलको मनसाय बुझेर उखान टुक्का हाल्न ओली सिपालु नै छन् । सायद, त्यसदिन भष्ट्राचार विरोधी कार्यकर्ताको उपस्थिति थियो, उनले फ्याट्ट भाषण गरिदिए ।
यतिमात्र होइन, ओलीले भ्रष्टाचार गर्नेको उछिटो काडिरहदा उनकै नजिकका व्यक्ति (जो मन्त्री थिए) उनले करोडौंको मोलमोलाई गर्दै थिए । विडम्वना ! त्यहीँ परिवेशमा भ्रष्टाचारको विरोध तथा पारदर्शिता, निष्ठा र जवाफदेहिताको पक्षमा काम गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेश्नलले नेपाललाई धेरै भ्रष्टाचारी भएको मुलुकको सूचीमा बढवा दिने गरी प्रतिवेदन बनाउँदै थियो ।
दुईतिहाइ कम्युनिष्ट पार्टीका अध्यक्ष, यतिमात्र होइन मुलुक हाक्ने प्रधानमन्त्री । जो बोल्दा मुलुक हल्लिनुपर्नेमा उल्टै उनी जोकरमा परिणत हुँदै थिए ।
ओलीले भ्रष्टाचारबारे बोलिरहन्थे, उनीनिकट नेता तथा कार्यकर्ता र मन्त्री करोडौंको डिल विचौलियासँग फोनमै गर्थे । ओलीले भ्रष्टाचारी मेरो छेउमै नआउनू भन्दै भाषण गर्दा गडगडाहट ताली पाउँथे । तर, भ्रष्टाचारका आरोपीलाई बालकोटको आफ्नो निजीनिवास सुम्पन्थे ।
यती, ओम्नी, वाइडवडी, बालुवाटारकाण्डबारे पत्रपत्रिकाले लेखिरहन्थे । कार्यकर्ताहरु पढ्ने चेस्टा गर्दैनथे । उल्टै त्यहीँ पत्रिकाले छोपेर व्यापारीले दिएको बदाम किनेर खान्थे ।
त्यहीँ पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले स्थानीय तह भ्रष्टाचारको अखडा बने भन्दै चिन्ता जाहेर गरिरहन्थे । नेपालले भ्रष्टाचारको चिन्ता जाहेर गर्दा थपडी बजेको सुनिएन । उखान, टुक्का र चुड्किला भन्दा नागरिकका पीडा, गुनासा र समस्याबारे बताइरहने नेता नेपालले बोल्दा भाषणमा उत्साह आउने परिवेश पक्कै थिएन् ।
आफ्नै तालमा नाच्दै हिड्ने ओली देख्दा नहास्ने को नै हुन सक्थ्यो र ! हाँसो न हो, खुसीमा मात्र होइन् लाजमा पनि हाँसो देख्नु पर्ने हाँसोको शक्ति हो । सायद ओलीले त्यहीँ बुझेरै हसाउँदै हिड्थे ।
इतिहासमा सबैभन्दा बढी भ्रष्टाचार ओली सरकारको पालामा भएको थियो । केन्द्रदेखि गाउँगाउँका सिंहदरबारमा भ्रष्टाचार छिरेको विभिन्न सरकारी प्रतिवेदनले देखाइरहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवदेन, महालेखा परीक्षकको कार्यलय, विभिन्न स्वतन्त्र निकायले निकालेका प्रतिवेदन पढ्दा प्रष्ट हुन्छ ।
चर्का गफ दिने ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सकेनन्, उल्टै भ्रष्टाचारीलाई संरक्षण दिएको यथार्थ हो । जुन दलका नेता तथा कार्यकर्ताले भ्रष्टाचार गरे पनि नियन्त्रण गर्नु सरकारको काम थियो । देश चलाउने प्रधानमन्त्री गुण र दोष दुवैको भागिदार हो ।
ओलीले आफ्ना कार्यकर्ताले आँखै अगाडि गरेको भ्रष्टाचार देखेनन् । अडियो टेपका करोडौंका बार्गेनिङ सुन्न ओली तयार भएनन् । यतीलाई नेपाल ट्रष्टका सम्पत्ति सुम्पदा ती चर्का भाषण हावामा उडिसकेको थियो ।
ओम्नीले मास्क, स्यानिटाइजरमा करोडौंको घोटाला गर्दा कानमा तेल हालेर सुते । तर, व्यूझिने चेष्टा ओलीले गरेनन् । बालुवाटार जग्गाकाण्डमा आफ्ना गुटका नेता बचाउन लागेको चर्तिकला सबैले देख्यौं नै ।
ओली प्रवृत्तिको खतरनाक पक्ष भनेकै गोयबल्स शैलीमा भ्रम फैलाउनु हो । कानुनी राज्य मान्ने जो कसैले सर्वोच्चको फैसला स्विकार्नु पर्छ । ओलीले उखान टुक्का हाल्दै भन्ने गर्थे, ‘नाङ्गो गोरु देख्दा मलाई लाज लाग्दैन् ।’ आँखै अगाडिको भ्रष्टाचार देख्दा पनि सायद उनलाई लाज लागेन । सायद, भ्रष्टाचार गर्ने ‘गोरु’ नै थिए नागरिक थिएनन् ।
कम्युनिष्ट पार्टीको सरकार, नागरिकले आँखै अगाडि देखिरहेका यी यस्ता कुकर्म । कम्युनिष्ट पार्टी सिद्धान्त, विचार र विधिमा चल्ने पार्टी हो । कम्युनिष्टहरू भ्रष्टाचारी, सांस्कृतिक विचलनकारी, जाँडरक्सीवालालाई पटक्कै राम्रो मान्दैनन् । यी तीन कुरा स्विकार्ने कुनै पनि नेता, कार्यकर्ता कम्युनिष्ट बन्दै सक्दैनन् । आरोप प्रमाणित भए पार्टीको कठोर कारबाही भोग्नुपर्छ ।
खै त आम नागरिकले बुझेको कम्युनिष्ट पार्टी ? सायद, कम्युनिष्ट पार्टी यस्तो बन्यो जसले भ्रष्टाचारीलाई संरक्षण ग¥यो । इतिहासमा यस्तो भद्दा मजाक सायद कतै चलेको छैन् होला । तर, ओलीको नेतृत्वमा रहेको कम्युनिष्ट पार्टी र सरकारमा चल्यो ।
कम्युनिष्ट पार्टीको नाम भजाउने तर, आफ्नै नेता तथा कार्यकर्ताले भ्रष्टाचार गर्दा संरक्षण गर्ने पार्टी नेपाली जनताले चाहेका होइनन् । श्रमजीवि, सर्वहारा वर्गको दुहाई दिएर चु्नाव जित्ने, सत्तामा पुगेर जनता विर्सिने काम गरेकै कारण अहिले देश अस्तव्यस्तताको शिकार बनेको छ ।
पार्टीभित्र भ्रष्टाचार, अनियमिता, घुसखोरीको कुरा उठ्दा बैठक छाडेर भाग्ने, छलफलै गर्न नरुचाउने प्रवृत्ति ओलीमा देखिएकै हो । दलाल पुँजीवाद भन्ने तर, आफैँ दलाल पुँजीपतिको संरक्षणमा लाग्ने काम पनि ओलीबाटै भयो ।
सिद्धान्त, विचार र वर्तमान कार्यक्रमको बारेमा कहिल्यै पार्टीमा बहस भएन । चुनाव चिह्नको ब्राण्डको अहमता, घमण्ड र दम्भ देखियो । देशैभर एमाले देख्ने तर, आफ्नो कुकर्मबारे कहिल्यै नसोच्ने प्रवृत्ति हाबी हुँदै ओली प्रवृत्तिमा रुपान्तरण भएको छ ।
भ्रष्टाचारी नेता तथा कार्यकर्तालाई स्पष्टीकरणसम्म सोध्न नसक्ने पार्टीले देश र जनताको भलो गर्ला ? आजको यक्ष प्रश्न यी हो । आफ्ना आसेपासे, गुटीया र भजनमण्डलीले देखाउने मण्डले प्रवृत्तिबारे पार्टी र त्यसका नेताले कहिल्यै स्वमूल्यांकन गरेनन् । यतिसम्म कि, पार्टी फुटको पीडामा आम कार्यकर्ता पर्दा जन्मदिनमा कम्मर मर्काएर डान्स गर्ने ओली नै हुन् ।
व्यतिथिले सीमा नाघ्यो । सिंगो व्यवस्थामाथि प्रश्नै प्रश्न उठ्न थाल्यो । सिंगो कम्युनिष्ट आन्दोलन बदनाम बन्यो । यसको चिन्ता ओली र उनका गुटलाई कहिल्यै परेन् । ओली प्रवृत्तिकै कारण नागरिकहरूले राजाभन्दा नेता खराब देख्न थालेका छन् ।
एमालेको विधान सम्मेलनमा अहिलेको विषम परिस्थितिबारे निर्मम समीक्षा होला भन्ने धेरेले सोचेका थिए । पार्टी फुट, सिंगो व्यवस्थामाथिको नैरश्यता, भ्रष्टाचारको जालोको फैलावटबारे गम्भीर समीक्षा होला भन्ने सोच्नु सामान्य नै हो ।
सिंगो मुलुक समाजवादी कार्यक्रममार्फत अगाडि बढाउनुपर्नेमा चारैतिर बुख्याचाको रौनकतामा ओली भुलिए । सायद, एमालेजनले जनताको बहुदलीय जनवादको सम्मान यसैमा देखे । सिद्धान्त, सिद्धान्तका लागि मात्र ठान्नेहरूका लागि चुनाव चिह्न र पार्टीको ब्राण्ड काफी नै छ ।