काठमाडौं, २९ असोज ।
सत्तारुढ नेकपाले बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि बुधबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा एक लाख भन्दा धेरैलाई निम्तो गरिएको छ । कार्यकर्ताहरुलाई अनिवार्य रुपमा उपस्थित हुन भनिएको छ ।
महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आमजनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारीलगायतलाई आमन्त्रण गरिएको उल्लेख छ ।