ग्रामीण परिवेशमा जन्मेर हुर्केको म । बचपनमा देख्ने सपना त्यति ठूला थिएनन् । बचपन यस्तो हुन्छ, जहाँ भविष्यबारे कसैले सोधे फ्याट्ट भनिन्छ, ‘डाक्टर, पाइलट र इन्जिनियर बन्छु ।’
समाजमा यही जागिर प्रतिष्ठित छ भन्ने मनोविज्ञान छ । दयनीय पारिवारिक स्थितिमा जन्मे, हुर्केका अपवाद बाहेकका बालबच्चाले यस्तै डाक्टर, पाइलट र इन्जिनियर बन्ने सपना देखेका हुन्छन् ।
देखेका, सुनेका सपना पूरा हुन्छन् भन्ने बचपनमा कसलाई के थाहा ? तर, विद्यालयमा शिक्षकले भविष्यबारे सपना देख्न सिकाउदै भन्ने गर्थे, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक ।’
तर, मेरो सपना अलिक फरक थियो । स्कूले जीवनदेखि नै रेडियोमा बोल्ने सपना थियो । यो बाहेक अर्को थिएन । गन्यमान्यले भविष्यमा के बन्छौँ ? भनेर सोधे ‘रेडियोमा बोल्छु’ भन्ने सहज उत्तर आउँथ्यो । भविष्यको सपना सुन्दा मेरो हाँस्थे । ती हाँस्नेहरूलाई मेरो सपना ठूलो लागेको थिएन ।
सायद रेडियोकर्मले जीवनमा खासै फरक पार्दैन भनेर हाँस्नेहरूले बुझेका हुँदा हुन् । हाँस्ने मध्ये कतिपय रेडियोमा बोल्न सक्ने पहुँचमा यो कसरी पुग्ला ? भनेर पनि हाँसे होलान् । बुझाईका फरकफरक पाटा हुन्छन् नै ।
भौगोलिक जटिलताले विद्यालयको पहुँच नजिक नभए पनि पढ्नुपर्छ भन्ने घरायसी वातावरण राम्रो थियो । अर्घाखाँचीमा जन्मेर हुर्केको मेरो पढाई मध्यम खालको हो । गाउँघरमा खासै पढेलेखेका थिएनन् । बुबाले कक्षा १० सम्मको अध्ययन गरेपनि रोजगारीको लागि भारत जानुपर्ने परिस्थितिले मैले सिक्ने सुविधा पाउन सकिन । आमाको पढाई अक्षर चिन्नेसम्मको थियो ।
गाउँमा खासै पढेलेखेका नभएको अवस्थामा एकजना आयुर्वेदिक चिकित्सक बाबा योगीराजको गाउँ प्रवेश भयो । आयुर्वेदिक अस्पताल खोल्ने गरी बाबा योगीराज गाउँ आउनुभएको थियो । उहाँको गाउँ प्रवेशले बालापनका उमेर अध्ययनमा बितेका हुन् । उहाँबाट थुप्रै ज्ञान सिक्ने मौका मिलेको छ । भनिन्छ नि, जस्तो वातावरणमा हुर्कियो त्यस्तै बाटो समातिन्छ ।
बाबा योगीराजले सानै उमेरमा धर्म, संस्कार र संस्कृतिका अनेकन पाटोबारे सिकाइरहनुहुन्थ्यो । उहाँको उद्देश्य आयुर्वेदिक अस्पताल खोल्ने भएपनि गाउँका हरेक बच्चालाई अध्ययनमा जोड दिनुपर्छ भन्ने पवित्र भावना थियो । उहाँले महाभारतका श्लोकदेखि भविष्यका लक्ष्यबारे सिकाउने र जान्ने उत्सुकता राख्नुहुन्थ्यो । धेरै साथीहरूले भविष्यको लक्ष्य बताउँदा मैले बाबा योगीराजलाई भनेका थिए, ‘बाबा म भविष्यमा रेडियोकर्मी बन्ने हो ।’
त्यो उमेरमा मैले सोचेको उद्देश्य र आज मैले गरेको पेशा देखेर बाबा योगीराज प्रसन्न हुनुहुन्छ । कयौं कार्यक्रममा उहाँले मेरो उदाहरण दिनुहुन्छ । आखिर लक्ष्य सानै लिएपनि मेरो उद्देश्य त पूरा भएको छ ।
भारतका पूर्वराष्ट्रपति स्वर्गीय एपीजे अब्दुल कलाम भन्नुहुन्छ, ‘जसले सपना देख्छ उसको सपना पूरा हुन्छ ।’ कलाम युवाका लागि प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ । उहाँ राष्ट्रपति मात्रै होइन्, एक वैज्ञानिक, सैनिक एवं कुशल उत्प्रेरक प्रवचनकर्ता समेत हुनुहुन्थ्यो ।
सानै उमेरदेखि मेरो रेडियो प्रतिको लगाव हो । मैले रेडियो सुनेको देख्दा हजुरआमा समेत चकित पर्नुहुन्थ्यो । भविष्यमा मेरो नाति के बन्ला भन्ने उहाँमा उत्सुकता थियो । विडम्बना ! म रेडियोमा बोल्न नपाउँदै उहाँले संसार छाडेर जानुभयो ।
रेडियोमा नबोल्दासम्म रेडियो मेरो साथी हो । त्यसैले त बालपनका कयौं सांस्कृतिक कार्यक्रममा मेरो आवद्धता हुने थिएन् । अरु सबै तीज, दशैँ, तिहार, शिवरात्रि र अन्य महत्वपूर्ण चाडपर्वमा रमाइलो गर्दा म रेडियो सुनेर कोठामा एक्लै बस्थे । रेडियोसँगै मज्जा लिने, रेडियोले भनेको कुरा टिपोट गर्ने, साहित्य कोर्ने आदिइत्यादि ।
बालपनको उमेर निकै चञ्चल उमेर हो । अझ गाउँघरमा जन्मने, हुर्कने बालबच्चा बुबा आमाको प्रत्यक्ष निगरानीमा कमै हुन्छन् । बिहान उठेदेखि साँझसम्म घरायसी काममा व्यस्त हुनुपर्ने आमाहरूको यथार्थ दुःख हो । त्यो परिवेशमा बच्चाहरू निगरानीमा भइरहन्छन् भन्ने कुराको सम्भव छैन् ।
यस्तो बेला साथीसंगीको लहैलहैमा लागेर कुलतमा पनि पर्न सकिन्थ्यो । तर, म यसबाट बचेँको छु । आजसम्म मैले मदिरा खान जानेको छैन्, सुर्तीजन्य पदार्थबाट टाढा छु । कारण रेडियो । यी कुलतका नसा सिक्ने वातावरण रेडियोले गर्दा बन्न सकेन् ।
गाउँमा एसएलसी पास गरेपछि प्लस टु अंग्रेजी साहित्य पढ्ने ध्येयले तराई झरे । सानै उमेरदेखि रेडियो प्रतिको लगावले नै साहित्यतर्फ बाटो मोडिएको हो ।
त्यति बेला व्यवस्थापन संकाय (कमर्श) पढ्नेको लहरको कारण अंग्रेजी साहित्य पढ्ने विद्यार्थी भएनन् । अंग्रेजी साहित्य नपढे पनि नेपाली साहित्य पढ्ने गरी मानविकी सङ्कायमा भर्ना भए । कतिपय साथीले मानविकी संकायबाट नेपाली विषय पढ्दा खिसिट्युरी नगरेका भने होइनन् ।
मानविकी संकाय पढेर जागिर नपाउने अचम्मको भ्रम छ समाजमा । शिक्षक सेवामा जानका लागि शिक्षा संकाय पढ्नुपर्ने र वित्तिय संस्थामा जागिर खानका लागि कमर्स पढ्नुपर्छ भन्ने बुझाई छ । मानविकीले यी विषयमा जान सजिलो हुँदैन भन्ने धारणा पाइन्छ । तर मैले मानविकी रोजे । यसको कारण रेडियो प्रतिको लगाव नै हो ।
प्लस टु पढ्दै गर्दा कपिलवस्तु चन्द्रौटामा रहेको ‘भ्वाइस एफएम’मा आवद्ध भए । ‘शीतल छहारी’ नामको लोक गीत कार्यक्रमबाट मेरो रेडियो यात्राको शुभारम्भ भयो ।
सामाजिक सञ्जालको खासै पहुँच नभएको समयमा रेडियोमा बोल्नु चर्चाका हिसाबले राम्रै थियो । नेपाली भाषामा राम्रै भएको कारण लगत्तै समाचार शाखामा छिरे । कार्यक्रमसँगै समाचार शाखामा काम गर्ने अवसर तत्कालीन रेडियोका स्टेसन म्यानेजर निशा विश्वकर्माले दिनुभएको थियो ।
समाचारमा काम गर्दै गर्दा सामुदायिक सूचना नेटवर्क (सिआइएन)मा रिर्पोट बज्न थाल्यो । विस्तारै पत्रकारितातर्फ लत पस्यो । रेडियोमा रहँदै कमान्डर पोष्ट, अन्नपूर्ण पोष्ट जस्ता राष्ट्रिय दैनिकमा रिर्पोटरको रुपमा काम गरे ।
पत्रकारितामा हौसला प्रदान गर्ने आदरणीय पत्रकार सीताराम चौधरी पनि हुनुहुन्छ । वि.सं. २०६८ सुरु भएको रेडियो यात्रा भ्वाइस एफएममा तीन वर्ष, रेडियो बुद्ध आवाजमा चार वर्ष, रेडियो मायादेवीमा चार वर्ष देखि निरन्तरता छ ।
अन्त्यमा,
एक दशक देखिको रेडियो यात्रा आजसम्म निरन्तर छ । रेडियोमा बोलेर, लेखेर जीवन चलिरहेको छ । अझ वैवाहिक जीवन पनि रेडियोकर्मीसँगै सुरुवात भएको छ । जीवन साथी दीपा महत पनि रेडियोकर्ममै छिन् ।
रेडियोमा पारिवारिक आवद्धता अर्को चाखलाग्दो विषय छ । आजको दिनसम्म रेडियोकर्मको यात्रा आइपुग्दा थुप्रै साथीहरू पलायन भएका छन् । रेडियोमा राम्रो सम्भावना बोकेका साथीहरू पेशाबाट पलायन हुँदा उत्तिकै चिन्ता लाग्छ ।
आज रेडियोहरू दक्ष जनशक्तिको अभावमा बाँचिरहेका छन् । नयाँनयाँ प्रविधिको प्रयोगले रेडियो सुन्ने स्रोता घटिरहेका छन् । एकातिर दक्ष जनशक्तिको पलायनले राम्रा सामग्री उत्पादन हुन नसक्नु र नयाँ प्रविधिको प्रयोगले स्रोता घट्नु अहिलेको चुनौती हो ।
पत्रकारिताबाट रेडियोकर्मीलाई हेर्ने बुझाई पनि अलि फरक छ । पत्रपत्रिका र अनलाइनमा लेख्नेलाई मात्र पत्रकार मान्ने प्रवृत्ति उस्तै छ । आज मोफसलमा रेडियोमा काम गरेर मासिक तलब खान धौ धौ छ । तोकिएको असाध्यै न्यूनतम तलब पाउन मुस्किल छ ।
गाउँ गाउँमा खोलिएका रेडियोहरू केवल राजनीतिक स्वार्थ प्रेरित हुँदा यसमा लाग्ने रेडियोकर्मी सन्तुलित हुन सकेका छैनन् । आज जागिरको अन्तिम विकल्प रेडियो हुन थालेको छ । कही कतै जागिर नपाए रेडियो त छ नि विकल्प भन्ने गाउँघरमा बुझाई हुन थालेको छ ।
आजभन्दा ५ वर्ष अगाडिको सन्दर्भ हो । एक दिन कपाल काट्न सैलुन पुगेको थिए । कपाल काट्ने साथीले सोधे तपाई के गर्नुहुन्छ ? मैले जवाफ दिए रेडियोमा काम गर्छु । उनले अगाडि बढेर भने, ‘रेडियोमा काम गरेर पनि तलब पाइन्छ र ?’ जीवन धान्नै मुस्किल हुन्छ भन्छन् त । हाम्री बहिनीले रेडियोमा तीन महिना काम गरेर एक रुपैयाँ पाइनन् ।’ यस्ता चुनौतीको सामनामा रेडियोकर्मी छन् ।
जुन रेडियोले जुन वर्गको आवाज बोलेको हुन्छ । त्यही वर्गप्रतिको रेडियोबारे बुझाई नकरात्मक हुनु अर्को चुनौती हो ।
रेडियोमा लाग्दै गर्दा कतिपय उत्साहजनक सन्दर्भ पनि छन् । तत्कालीन नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल असाध्यै रेडियो सुन्नुहुन्छ । एक दिन अन्तर्वार्ता अगाडि अध्यक्ष पोख्रेलले सोध्नुभयो, ‘दीपकजी तपाई यसरी दिनरात रेडियोमा बोल्नुहुन्छ । आवाज दिनुहुन्छ । आमाबुबाले रेडियोमा आफ्नो छोरो बोलेको सुन्दा गर्व मान्नु हुन्छ होला है ।’
सम्भावना, चुनौती, निरास र उत्साहका बीच रेडियोकर्म चलिरहेका बेला विश्व रेडियो दिवसको अवसरमा सम्पूर्ण स्रोता र रेडियोकर्मीलाई हार्दिक मंगलमय शुभकामना !