धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले राजनीतिक दलहरूबीच हुने सहमतिका आधारमा आवश्यक परेमा आफ्नो पार्टीले पनि राष्ट्रपतिमा उम्मेदवार उठाउने बताएका छन् । राष्ट्रपतिमा राजनीतिक मान्छे नै हुनुपर्ने बताउँदै उनले गैर राजनीतिक मान्छेलाई राष्ट्रपति बनाउँदा लोकतन्त्र नै समस्यामा पर्ने बताए ।
उनले राष्ट्रपतिको निर्वाचनमा सबै राजनीतिक दलले सुझबुझ तरिकाले निर्णय लिनुपर्ने बताए । धनगढीमा आज समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन् ।
‘राष्ट्रपतिको निर्वाचन भनेको महत्त्वपूर्ण विषय हो । यसमा सबै राजनीतिक दलले सुझबुझ, दूरदर्शिता, संविधानको मर्म र भावनाका साथ राम्रो व्यक्तित्वलाई पदमा पुर्याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि सबै पार्टीले राम्रोसँग समन्वयका साथ अघि बढ्नुपर्छ ।’