Logo
Logo

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्दै


1.3k
Shares

एजेन्सी । अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतमा ठ्याक्कै कति जनसंख्या छ भनेर एक वर्षसम्म पनि थाहा नहुने सम्भावना रहेको बताएको छ ।

विज्ञहरूले रोजगारी, घर, साक्षरता दर, बसाइसराइँको प्रवृत्ति, शिशुमृत्युदरलगायतका तथ्यांक अद्यावधिक नभएकाले पनि जनगणनाको अन्तिम तथ्यांक आउन समय लाग्ने बताइएको छ ।

वास्तविक तथ्यांक थाहा नहुँदा एसियाली अर्थतन्त्रमा प्रभावशाली मुलुकका रूपमा रहेको भारतको सामाजिक तथा आर्थिक योजना तथा रणनीति तयारीमा समेत असर पुग्ने रोयटर्सले जनाएको छ ।

अहिले पनि सन् २०११ मा भएको जनगणनाको तथ्यांकअनुसार नै सरकारी नीति बन्ने गरेको सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अधिकारी बताउँछन् ।

आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ । सन् २०२१ मा भएको चीनको सातौँ राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड रहेको छ ।

सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड रहेको छ । त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्याबराबर हो । भारतीय विशिष्ट पहिचान प्राधिकरण (यूआईडीएआई) का अनुसार २०२२ को डिसेम्बर ३१ सम्म १ अर्ब ३० करोड मानिस आधार कार्डका लागि दर्ता भएका छन् ।

भारतको जनगणना ३ लाख ३० हजार सरकारी शिक्षकहरूले घर(घर प्रश्नावली लिएर गइरहेका छन् । १६ भाषामा तयार भएको प्रश्नावलीमा २ दर्जनभन्दा बढी प्रश्न राखिएका छन् । जनगणनाका लागि ८७ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्