Logo
Logo

अख्तियारका नक्कली प्रमुख आयुक्त प्रहरी हिरासतमा


2.7k
Shares


काठमाडौं । श्रम तथा रोजगार मन्त्रालय अन्र्तगतको इपिएस कोरिया शाखाका प्रमुख पुष्पराज कटवाललाई मंगलबार बिहानै एक व्यक्तिले फोन गरेर भने, ‘म अख्तियारको प्रमुख आयुक्त प्रेमकुमार राई बोलेको, मेरो भतिजी डोमा शेर्पालाई जसरी पनि इपिएस परीक्षा पास गराउनुहोला ।’ सुरुमा त उनी अलमलमा परे । तर, राईसँग चिनजान भएकाले त्यस्तो दबाब दिन फोन गरेकोमा विश्वास गरेनन् । प्रमुख आयुक्त राईले त्यस्तो दबाब दिए भन्नेमा उनलाई विश्वास लागेन । थप बुझ्दा त्यो नम्बर राईले प्रयोग नभएको खुल्यो ।


मंगलबार नै कटवालले प्रहरीलाई त्यसबारे जानकारी गराए । प्रहरीले अनुसन्धान गर्दा कागेश्वरी–मनहरा नगरपालिका– ५ थली बस्ने ७२ वर्षीय रामनारायण पण्डितले त्यसरी प्रमुख आयुक्त हुँ भन्दै फोन गरेको खुल्यो । प्रहरीले उनलाई केही घन्टामै पक्राउ ग¥यो ।


उनले आफ्नै घरमा बस्ने ससुरालीतर्फबाट भदैनी नाता पर्ने डोमालाई परीक्षामा उत्तीर्ण गराउन अख्तियार प्रमुख हुँ भन्दै फोन गरेका हुन् । डोमाले कोरियन भाषा परीक्षा दिइरहेकी थिइन् । उनलाई उत्तीर्ण गराउन पण्डितले त्यसरी प्रमुख आयुक्त बनेर कार्यालयका प्रमुख कटवाललाई दबाब दिएका थिए ।


सोमबार पनि उनले कार्यालयका अधिकृत शोभाकर भण्डारीलाई फोन गरी त्यसैगरी दबाब दिएका थिए । फोन मात्र होइन, शेर्पाको प्रवेशपत्रको फोटो समेत ह्वाट्सएपमा पठाएका थिए । ‘फोन आउँदा सुरुमै शंका लागेको थियो,’ कटवाल भन्छन्, ‘थप बुझ्दा पुष्टि भएपछि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार गरेका हौं ।’


जिल्ला प्रहरी परिसर ललितपुरले पण्डितलाई थुनामा राखेर कारबाही अघि बढाएको छ । नपाएको पद पाएको भनी झुक्याउने प्रयास गरेकाले पण्डितलाई पक्राउ गरी कारबाही अघि बढाइएको ललितपुर परिसरका एसपी प्रवीण पोखरेलले बताए । उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ ।


पण्डितले आफू चिकित्सक भएको दाबी गरेका छन् । तर, उनले दाबी गरेको नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बरमा गलत रहेको पाइएको छ । त्यसउपर पनि अनुसन्धान भइरहेको ललितपुर परिसरका एसपी पोखरेलले बताए । पण्डितले आफूलाई वीर अस्पतालको पूर्वचिकित्सक भन्दै चिनाउने गरेका छन् ।


स्रोतका अनुसार पहिलेदेखि नै उनी यस्तै गतिविधिमा संलग्न हुन् । पाँच वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त पद रिक्त थियो । उनले आफू सो पदको पदमा नियुक्त हुन लागेको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पार्ने प्रयास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्