Logo
Logo

‘स्पट फिक्सिङ’मा काठमाडौं नाइटसका मालिक पनि संलग्न


693
Shares


काठमाडौं । गत महिना सम्पन्न नेपाल टी २० लिगमा काठमाडौं नाइटसका मालिक नवीन कँडेलको संलग्नता देखिएको छ । उनलाई पनि मुद्दा चलाउनुपर्ने रयासहितको अनुसन्धान प्रतिवेदन प्रहरीले अघि बढाएको छ ।


काठमाडौं नाइटस्मा आबद्ध एक विदेशी खेलाडीलाई टिमकै व्यवस्थापनमा आबद्ध विकास धानीले फिक्सिङको प्रस्ताव गरेका थिए । धानी सेभेन थ्रि स्पोटस्सँगै आबद्ध व्यक्ति हुन् । ती विदेशी खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)लाई यसबारे जानकारी गराएपछि छानबिन सुरु भएको थियो । त्यसको भोलिपल्टै आकस्मिक काम भनेर भारत गएका उनीहरु फर्किएनन् ।
टिमको व्यवस्थापनबाटै खेलाडीलाई यसरी फिक्सिङको प्रस्ताव गएपछि मालिक कँडेललाई पनि प्रहरीले प्रतिवादी बनाउन रायसहित अनुसन्धान प्रतिवेदन अघि बढाएको हो । प्रहरीका अनुसार कँडेलको प्रत्यक्ष संलग्नताको प्रमाण भेटिएको छैन तर अप्रत्यक्ष रुपमा उनले सघाएका छन् भने उनको धेरै शंकास्पद गतिविधि देखिएका छन् ।


सेभेन थ्रि स्पोटेस्का मालिक जतिनसँग निकट रहेका कँडेलले आर्थिक स्रोत देखाउन सकेका छैनन् ।आफुले जतिनकै आग्रहमा सो टिमको मालिक बसेको तर विस्तृत जानकारी नभएको भनेर उनले सिआइबीमा कागज गरेका थिए । तर, जटिनको अवैध गतिविधिमा उनको सहयोग देखिएको अनुसन्धानमा आबद्ध सिआइबी अधिकारी बताउँछन् । सुरुमा उनी सिआइबीमा उपस्थित भएपनि हाल फरार छन् । चितवन स्थायी घर भएका कँडेल बेलायतको समेत नागरिकता छ ।


फिक्सिङ लगायत कारणले विवादमा परेको नेपाल टी २० लिगमा खेलाडी चयनदेखि नै शंकास्पद गतिविधि देखिएको प्रहरीले जनाएको छ । फिक्सिङ गराउने पूर्व योजनाअनुसार नै प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टस्ले केही विदेशी खेलाडीलाई अनुबन्धित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को निष्कर्ष छ ।


प्रहरी सो प्रकरणको अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सिआइबीले प्रतियोगिताको मुख्य साझेदार कम्पनी, टिमका मालिकसहित १२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने निष्कर्षसहित प्रतिवेदन बुझाएको छ । यसमा नेपाल क्रिकेट संघले व्यवसायिक तथा रणनीतिक साझेदारका रुपमा भित्राएको भारतीय कम्पनी सेभेन थ्रि स्पोटेस्का मालिकहरु नै मुख्य नाइके भएको सिआइबीले जनाएको छ । सो कम्पनीका सञ्चालकहरु जतिन अहलुवालिया, अभिशेख शाखलानी र बिनोद धानीविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ । उनीहरु छानबिन सुरु भएलगत्तै भागेका थिए । ‘सो कम्पनीले सुरुदेखि नै प्रतियोगितालाई अस्वभाविक परिणामतर्फ लैजान खोजेको देखियो,’ सिआइबीका एसएसपी दिनेश आचार्य भन्छन्,‘विभिन्न फ्रेन्चाइस टिममा पनि उनीहरुकै हालिमुहाली देखियो, आर्थिक कारोबार लगायत विषय समेत अपारदर्शी देखिएका छन् ।’ केही विदेशी खेलाडी छनोट गर्दा राम्रो खेल्ने भन्दा फिक्सिङमा आफुहरुलाई सघाउने आधारमा छनोट गरेको प्रहरी अधिकारी बताउँछन् । प्रतियोगितामा पोखरा र लुम्बिनी बाहेकका सबे टिममा उनीहरुकै पकड रहेको समेत सिआइबीले जनाएको छ ।


सेभेन थ्रि स्पोटेस्सँगै निकट रहेका विराटनगर सुपर किंग्स्का राहुल शर्माको पनि संलग्नता देखिएको छ । १२ जना संलग्न भएपनि पूर्व खेलाडी महबुब आलम, राष्ट्रिय टिमकै खेलाडी मोहमद आदिल आलम र वीरगञ्जका क्रिकेटर नितेश गुप्ता पक्राउ मात्र पक्राउ परेका छन् । प्रतियोगिता खेलेकामध्ये आदिल र विराटनगर टिमको कप्तान रहेका वेष्ट इन्डिजका खेलाडी एन्ड्री म्याकर्थीले बुकीको प्रभावमा परी योजनाअनुसार नै खेलेका थिए । प्रतियोगिताको १६ औं खेलमा पावरप्लेभित्र २९ रन मात्र बनाएर फिक्सिङ गरेको सिआइबीको निष्कर्ष छ ।


त्यस्तै, जनकपुर रोयल्सका खेलाडी आदिलले बुकीकै निर्देशनअनुसार दुई वटा खेलमा ‘नो बल’ र वाइड फालेको पुष्टि भइसकेको छ । पुस १२ मा भएको काठमाडौं नाइट्सविरुद्धको खेलमा १२ ओभरमा फिक्सिङअनुसार उनले ‘नो बल’ र वाइड फालेका थिए । जून कुरा आदिलले प्रहरी बयानमा पनि स्वीकारेका छन् ।


पूर्व राष्ट्रिय खेलाडी आलमले दुई खेलाडीलाई फिक्सिङको प्रस्ताव गरेका थिए । आलमलाई यसमा लगाउने सप्तरीका रवि माझीलाई पनि फरारका रुपमा मुद्दा चलाउन लागिएको छ । भारतमा बस्ने उनी बुकी भएको अनुसन्धानमा खुलेको छ । त्यस्तै, आदिललाई समिर सेख नामक व्यक्तिले फिक्सिङको लागि परिचालन गरेका थिए । वीरगञ्जबाट पक्राउ परेका नितेश गुप्ताले पोखरा एभेन्जर्सका खेलाडीलाई फिक्सिङको प्रस्ताव राखेका थिए । नितेशलाई सघाउने भारतीय बुकीलाई पनि प्रतिवादी बनाउन लागिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार अभियोग दायर गर्न लागेको छ । जसअनुसार तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । नेपालमा कानून बनेपछि पहिलोपटक खेलकुदमा मिलेमतोसम्बन्धि मुद्दा दायर हुन लागेको हो । सरकारी वकिल कार्यालयले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायरको तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्