एजेन्सी । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्- ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ । तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो ।’
पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन् ।
युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो । तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो।
उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो । युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन् ।
नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन् ।