काठमाडौं . नेपाल टी २० लिगमा स्पट फिक्सिङ गरेको अभियोगमा पक्राउ परेका तीन जनासँग अदालतले ३–३ लाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला अदालत काठमाडौंले मोहमद आदिल आलम, महबुब आलम र नितेश गुप्तासँग ३–३ लाख रुपैयाँ धरौटी माग गरेको हो । उनीहरु धरौटी राखेर छुट्ने प्रक्रियामा छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलाशले धरौटी माग गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा गत ५ फागुनमा जिल्ला सरकारी वकिल कार्यालयले उनीहरुविरुद्ध अभियोग दायर गरेको थियो । तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना माग गरी मुद्दा दायर भएको थियो ।
सो प्रकरणमा अन्य दुई नेपाली नवीन कँडेल र रबि माझीलाई फरार अभियुक्तका रुपमा मुद्दा दायर भएको छ । कँडेल काठमाडौं नाइट्सका मालिक हुन् भने माझी बुकी एजेन्ट हुन् ।
सिआइबीको अनुसन्धानमा लिगको रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्रि स्पोर्टस्का मालिक जतिन अहलुवालिया, अभिशेख शाखलानी र बिनोद ध्यानीको पनि संलग्नता देखिएको थियो । त्यस्तै, विराटनगर सुपर किग्स्का म्यानेजर राहुल शर्मा, वेष्ट इन्डिजका खेलाडीएन्ड्री म्याकर्थी, बुकी एजेन्ट समिर शेख र वीरेन्द्र साहको पनि फिक्सिङमा मिलेमतो पुष्टि भएको थियो । उनीहरुलाई भने पक्राउ परेका बेला मुद्दा चलाउने निर्णय सरकारी वकिल कार्यालयले गरेको छ ।