काठमाडौं । नेकपा एमालेले राष्ट्रपति नपाउने पक्का भइसक्यो । त्यसैले त एमालेले अनेक खेल सुरू गर्यो । राष्ट्रपति गुमाउने परिस्थिति कसरी बन्यो भन्दा पनि अब एमालेले के गर्दा राम्रो ? भन्ने विषयमा चर्चा गर्दा उत्तम होला ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिका लागि सुवास नेम्वाङ र माधवकुमार नेपालको नाम प्रस्ताव गरिसकेका छन् । यसले नयाँ सम्भावनाको ढोका खोलेको देखिन्छ ।
सुवासको नाम राष्ट्रपतिका लागि प्रस्ताव गर्नु स्वभाविक हो । तर, वर्ष अगाडि पार्टी फोडेका माधवको नाम ओलीले सिफारिस गर्नुलाई अनेक अर्थ लगाउन सकिन्छ । तर, ओलीले माधवको नाम सिफारिस गरेर धमिलो पारेको ‘खोली’बाट नयाँ कोर्स प्रारम्भ हुन सक्छ ।
एमालेविरूद्ध पुनः कांग्रेस–माओवादी सहितका दल एक हुन लागेको प्रष्ट छ । यो कुरा ओलीले बुझेका छन् । त्यस्तो अवस्थामा राष्ट्रपति निर्वाचनमा ‘माधव कार्ड’ खेलेका हुन् । जुन कार्ड सफल भए तीन कुरा हुन्छ ।
यदि, माधव राष्ट्रपति बनेको खण्डमा पहिलो चरणमा बन्न लागेको नयाँ गठबन्धन बन्ने छैन । वर्तमान सरकारले निरन्तरता पाउँछ । र, एमालेका सबै सरकारहरूले निरन्तरता पाउँछन् ।
दोस्रो कुरा, विभाजन भएर गएको नेकपा एकीकृत समाजवादीलाई पार्टीमा गाभ्ने ओलीको योजनामा सहजता प्राप्त हुन्छ । किनकि, ‘एमालेका कारण आफ्नो अध्यक्ष राष्ट्रपति बन्यो’ भन्ने एकीकृत समाजवादीका नेता कार्यकर्तामा सन्देश प्रवाह हुनेछ ।
तेस्रो कुरा, एकीकृत समाजवादीलाई पार्टीमा ल्याउन सके सबैभन्दा ठूलो दल बन्ने र राष्ट्रपति पनि आफ्नै बनाउने ओलीको सपनाका लागि थोरै भएपनि गोरेटो कोरिन्छ । सभामुख त आफ्नै भइहाले ।
सोचेजस्तै सहज छ त ?
खाशमा माधवको नाम राष्ट्रपतिका लागि सिफारिस गरेर ओलीले भाँजो हाल्न खोजेका हुन् । तर, ओलीले धमिलो पारेको पानीमा कांग्रेस–माओवादीले माछा मार्ने सम्भावना पनि उत्तिकै छ ।
यदि, प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले काउन्टर प्लान बनाए ओली जिल्ल पर्नेछन् । प्रचण्ड र देउवा पनि ‘ओलीले पनि सिफारिस गरेकै व्यक्ति माधवलाई राष्ट्रपति बनाउन’ भन्ने निर्णयमा पुगे भने स्वभाविक रूपमा माधव प्रचण्ड–देउवासँगै नजिक हुन्छन् । यसका पनि आधार छन् ।
खाशमा राष्ट्रपतिका लागि माधवको नाम अघि सार्ने पहिलो व्यक्ति प्रचण्ड नै हुन् । उनले ओलीसँग भएको विभिन्न चरणको छलफलमा पनि ‘उसो भए माधवलाई बनाउँ न’ भन्दै आएका छन् । यो विषयमा प्रचण्ड र माधवबीच पनि छलफल भएकै छन् । र, माधव ओलीभन्दा प्रचण्ड–देउवासँगै नजिक छन् ।
त्यसैले, ओलीले सोचे जस्तो धमिलो पानीमा माछा मार्न सहज छैन । यस्तो अवस्थामा ओलीबाटै नयाँ विकल्पको प्रारम्भ हुनुपर्ने हुन्छ । त्यसले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गर्न सक्छ । र, केही वर्ष अगाडि खजमजिएको राजनीति पुनः ठीक दिशामा अघि बढ्न सक्छ ।
त्यो भनेको के हो त ?
यदि, माधवलाई राष्ट्रपति बनाउन प्रचण्ड–देउवा तयार भएको अवस्थामा ओलीले ‘ब्याक गियर’ चलाउनुपर्ने हुन्छ । त्यो भनेको ‘नेकपाकालीन’ कमजोरीहरू स्वीकार गर्ने र आत्मलोचना गर्ने हो ।
नेपाली राजनीतिज्ञमध्ये ओलीसँग विशिष्ट गुण छ । त्यो भनेको– ‘आगे–पिछे’ दुवैतर्फको गियर हो । यहाँनिर ओलीले पिछे गियर चलाए काम तमाम हुन्छ ।
सवाल– छिन्नभिन्न भएको नेकपालाई पुनः एकढिक्का बनाउने हो । ओलीका लागि यो ऐतिहासिक अवसर हुनसक्छ । किनकि, त्यो माधव वा प्रचण्डको पहलबाट सम्भव छैन ।
यदि, ओलीले यतिखेर फ्याट्ट ‘विगतमा मबाट गल्ति भयो । गल्ति स्वीकार्दै आत्मलोचना गर्छु’ मात्र भनिदिए माधव–प्रचण्डसँग बाँकी केही रहन्न । माओवादीले सरकार गठनकै क्रममा ओलीको विगत भुलिसकेको छ । राष्ट्रपति निर्वाचनले माधवलाई पनि विगत भुल्न सहज हुनेछ ।
विचार, आर्दश र सिद्धान्तकै कुरा गरे पनि कम्युनिष्ट छुट्नु र जुट्नुका लागि केही चाहिन्न भन्ने भाष्य त बनिसकेकै छ । त्यसैले यसपटक पनि फ्याट्ट मिले भैगो !
ओलीका सल्लाहकारहरूको धेरै आलोचना सुनिएकै हो । यतिखेर उनै सल्लाहकारले ओलीलाई प्रस्तुत सम्भावनाहरू खुसुक्कै सुनाइदिए एमालेकै लागि राम्रै हुने देखिन्छ ।
त्यसै पनि राजनीति अनेक सम्भावनाकै खेल हो भनिएकै छ । र, राजनीतिमा असम्भव केही छैन पनि भनिएकै हो । प्रस्तुत सम्भावनाहरू ‘हाइपोथेटिकल एजम्प्सन’ नै लाग्न सक्छ । तर, असम्भव पनि त होइन ।
मतभार पुग्छ त ?
राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार २७५ मत चाहिन्छ । अहिले एमालेसँग १५ हजार ३१२ मत छ । त्यसैगरी माओवादी केन्द्रसँग ७ हजार २४५ र एकीकृत समाजवादीसँग २ हजार ५७४ मत रहेको छ । कुल गरेर २५ हजार ६ सय ३१ मत हुन्छ । यो भनेको राष्ट्रपतिका लागि आवश्यक मतमा ६४४ मात्र कम हो । यस्तो अवस्थामा जसपाको साथ पाए त ओखिपोखी नै हुन्छ । नत्र अन्य साना पार्टीको मत पनि पुग्छ ।
तर, सरकार सञ्चालनका सवालमा भने अरू कष्ट गर्नुपर्ने हुन्छ । त्यो सम्भावनाको अर्कै व्याख्या गर्न सकिन्छ ।