– शम्भु श्रेष्ठ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणबारे अहिलेसम्म नेपालका मिडियाहरुमा चर्चा परिचर्चा जारी छ । राष्ट्रपति सीले नेपाल भूमिबाट चीनविरोधीहरुलाई दिएको धम्कीदेखि लिएर कम्युनिष्ट पार्टीका नेताहरुमा हुनुपर्ने गुण, चरित्र र आचरणका विषयमा नेपालका मिडियाहरुले बढी चर्चा गरेका छन् । राष्ट्रपति सीले भनेझै आजको समृद्ध र शक्तिशाली चीन एकै रातमा एउटा नेताले बनाएको चीन होइन । त्यसका लागि माओत्सेतुङदेखि राष्ट्रपति सीसम्मको योगदान रहेको छ । कम्युनिष्ट पार्टीप्रतिको प्रतिबद्धता, देश र जनताप्रतिको समर्पणले नै आजको चीन निर्माण सम्भव भएको हो ।
राष्ट्रपति सीकै शब्द सापटी लिने हो भने कम्युनिष्ट पार्टी भन्नासाथ स्वच्छता, सुशासन र अनुशासनको कुरा प्रमुख रुपमा अगाडि आउँछ । चिनियाँ कम्युनिष्ट पार्टीले ७० वर्षदेखि निरन्तर शासन गर्नुको पछाडि एक पटक सत्ता कब्जा गर्नु नै प्रमुख कारण होइन, निरन्तर जनताको सेवा र समर्पण नै चीनको सफलता हो । नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुसँगको भेटमा राष्ट्रपति सीले जोड दिँदै भनेका छन्– ‘कम्युनिष्ट पार्टीका नेताहरु इमान्दार र उच्च नैतिकवान हुनुपर्छ । साथै, जुनसुकै काम गर्दा पनि जनतालाई केन्द्रविन्दुमा राख्नुपर्छ । चीनमा ७० वर्षदेखि कम्युनिष्ट शासन सञ्चालन गर्न धेरै चुनौती भए पनि त्यहाँका जनता कम्युनिष्ट पार्टीको साथमा भएकोले ती चुनौतीहरु सामना गर्न सम्भव भएको हो ।’
राष्ट्रपति सीले आफ्नो अनुभव सुनाउने क्रममा नेकपाका नेताहरुलाई चीन कम्युनिष्ट क्रान्तिको आधारमा मात्रै सत्ता सञ्चालन गरेर यो ठाउँसम्म पुगेको होइन, धेरै प्रतिकूलताबीच पनि कम्युनिष्ट पार्टीले जनतालाई परिणाममुखी काम गरेर उपलब्धि दिन सकेकै कारण चीन समाजवादको लक्ष्य प्राप्तिको बाटोमा लागेको हो । पक्कै पनि राष्ट्रपति सीले सुनाएका अनुभवलाई नेकपाका नेताहरुले आत्मसात गर्न सके भने मात्रै तिनीहरुलाई नेपाली जनताले पत्याउनेछन् । नेपालकै सन्दर्भमा पनि कम्युनिष्ट पार्टी भन्नासाथ गरिब, दलित, श्रमिक, मजदुरहरुको पार्टी हो भनेर बुझिन्थ्यो । कम्युनिष्ट नेताहरु राष्ट्रवादी हुन्छन् । इमान्दार हुन्छन् । भ्रष्टाचार गर्दैनन्, सुख सुविधा सबै त्याग गर्छन् भनेर बुझिन्थ्यो । यही जगमा नेकपा हिजो उभिएको थियो । नेकपाका संस्थापक पुष्पलालको जीवन अभावमा बित्यो । मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारीलगायत नेताहरुको जीवन संघर्षमा बित्यो । अझ भन्ने हो भने भूमिगतकालमा ती नेताहरुलाई परिवार पाल्न त के आफ्नै हातमुख जोर्न पनि धौधौ पथ्र्यो । अहिले पनि नेपालका नेशनल मण्डेला भनेर चिनिने मोहनचन्द्र अधिकारी, मोहनविक्रम सिंह र मोहन वैद्यहरुजस्ता नेता जीवितै छन् । उनीहरु सादा जीवन, उच्च विचार बाँचिरहेका छन् ।
आज तिनै नेताहरुको संघर्ष, बलिदान, त्याग, तपस्याबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाइको सरकार छ । तर, त्यो सरकारमा बस्नेहरु कति नैतिकवान छन् ? कति इमान्दार छन् ? त्यस कुरामा कम्युनिष्ट पार्टी र सरकारको सफलता, असफलता निर्भर गर्दछ । चिनियाँ राष्ट्रपति सीले हाम्रा देशका नेताहरु नैतिकवान छैनन्, इमान्दार छैनन् भन्ने कुरा बुझेर नैतिकताको कुरा गरेको पक्कै पनि होइन होला । तर, उनको यो शब्द पढिरहँदा कताकता नेपालका कम्युनिष्ट नेताहरु बिग्रन थालेकोले राष्ट्रपति सीले यो चिन्ता जाहेर गरेको हो कि जस्तो लाग्यो । किनभने, राष्ट्रपति सीले ‘सम्पत्तिको लोभ गर्नेहरु कम्युनिष्ट हुन सक्दैनन्’ भनेर कतै भनेको शब्द सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । यो शब्दलाई नेपालको सन्दर्भमा हेर्ने हो भने कम्युनिष्ट पार्टीमा लागेर सम्पत्ति जोड्नेहरुको संख्या नेकपामा कमी छैन । हिजो कम्युनिष्ट पार्टीमा लाग्दा हात्ती छाप चप्पल लगाएर राजनीति गर्नेहरु आज करोडौं मूल्यका गाडी चढ्छन् । करोडौंको निजी आवास बनाएका छन् । छोराछोरी विदेश पढाएका छन् । आखिर, झोला बोकेर कम्युनिष्ट पार्टीमा लाग्नेहरुको अर्को वैकल्पिक व्यवसाय के थियो र ? त्यही कम्युनिष्ट सिद्धान्त, विचार आज उनीहरुका लागि कमाइखाने भाँडो बनेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जतिसुकै सुशासनको कुरा गरे पनि एक जना भ्रष्ट नेतालाई जेल हाल्न सकेका छैनन् । जबकि चिनियाँ राष्ट्रपति सीले आफ्नो पछिल्लो कार्यकालमा २० लाखभन्दा बढी पार्टी सदस्यहरुमाथि भ्रष्टाचारको आरोपमा छानविन गरिरहेका छन् । त्यो २० लाखमा सबैभन्दा बढी राज्यसत्तामा बसेर बिचौलियाको काम गर्ने, व्यापारीहरुसँग सेटिङमा ठेक्कापट्टा गर्नेदेखि नीतिगत भ्रष्टाचार गर्नेहरुको संख्या बढी छ । यहाँ नेपालमा त नीतिगत भ्रष्टाचारलाई सरकार आफैँले संस्थागत गरेको छ । सरकारले ठूला–ठूला सेटिङमा गर्ने नीतिगत भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेर्न नपाउने नियम बनाइएको छ । ठूला माफिया, व्यापारी र बिचौलियाले दुईतिहाइको सरकार सञ्चालन गरिरहेको आरोप छ । यस्तो स्थितिमा राष्ट्रपति सीले नेपालका कम्युनिष्ट नेताहरुलाई जति अर्ति, उपदेश दिए पनि त्यो भालुलाई पुराण बाहेक अरु हुनेछैन ।