काठमाडौं । हुन्डी कारोबारको आरोपमा भारत हिमाञ्चल सिमलाथाना घर भई काठमाडौं महानगरपालिका–१४ कुलेश्वर बस्ने माँ चामुण्डा फ्रुट सेन्टरका सञ्चालक ४९ वर्षीय विजय कुमार गुप्तालाई प्रहरीले फेरि पक्राउ गरेको छ ।
काठमाडौंको कुलेश्वर एरियामाकेही व्यक्तिले नेपाल राष्ट्र बैकले जारी गरेको आदेश-निर्देशन विपरीत हुने गरी ईजाजतपत्र नलिई बित्तिय कारोवार (हुण्डी) गर्दै आएको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं कुलेश्वरबाट हुण्डी गर्ने प्रयोजनको लागि संकलन गरेको नगद ५७ लाख रूपैयाँ र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेकसहित पक्राउ गरेको हो ।
उनले फलफूल व्यवसायको आवरणमा विगत लामो समयदेखि अवैध हुण्डीको कारोबार गर्दै आएको र यस अघिपनि २०७५ साउन ७ गते भारतीय रुपैया २ लाख र नेपाली ३१ लाख रुपैयाँ रकमसहित पक्राउ परेको अनुसन्धानबाट खुल्न आएको छ । उनी पटक पटक पक्राउ पर्र्दै आएका छन् । फलफूल पसलको आवरणमा उनले करोडौंको अवैध कारोबार गर्दै आएका छन् ।