काठमाडौं । सशस्त्र प्रहरी बलले बोर्डर आउटर पोष्ट(बिओपी)मा डिएसपीलाई खटाउने तयारी गरेको छ । हाल इन्सपेक्टर मात्र बिओपीमा इन्चार्जका रुपमा खटिदै आएका छन् ।
डिएसपीको कमाण्ड हुँदा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमामा प्रभावकारी काम हुने निष्कर्षका आधारमा डिएसपी खटाउन लागिएको सशस्त्र प्रहरीका एक उच्च अधिकारीले बताए । ‘सशस्त्र प्रहरीमा डिएसपीलाई कमाण्ड पनि कम छ,’ ती अधिकारीले भने,‘अर्काेतर्फ एसपीले सिधैं इन्सपेक्टरलाई कमाण्ड गर्दा भन्दा डिएसपी हुँदै कमाण्ड गर्दा चेन अफ कमाण्ड पनि बलियो हुने र सीमा सुरक्षामा प्रभावकारी काम हुने हाम्रो विश्वास छ ।’ प्रारम्भिक चरणमा ४५ वटा संवेदनशील बिओपीमा डिएसपी खटाउने गरी अध्ययन गरिएको छ । त्यसमा विगतमा भन्सार गुल्म रहेका बिओपीहरु समेत छन् । यसरी बिओपी इन्चार्जका रुपमा खटिने डिएसपीलाई नजिकका अन्य बिओपीको समेत जिम्मेवारी दिएर खटाउन लागिएको छ ।
नेपालको सीमामा खटिएको भारतीय सुरक्षा फौज सशस्त्र सीमा बल(एसएसबी)ले पनि यसैगरी कम्पनी कमान्डरको अवधारणाअनुसार सुरक्षाकर्मी खटाएको छ । नेपालले पनि त्यही प्रणाली अवलम्बन गर्न लागेको छ ।