Logo
Logo

सचिवकै नेतृत्वमा गृहमा बेथिती


4.2k
Shares

काठमाडौं । एक महिनादेखि मन्त्री नहुँदा गृह मन्त्रालयमा कर्मचारीको हालिमुहाली बढेको छ । सचिव विनोद प्रकाश सिंहकै नेतृत्वमा मन्त्रालयमा बेथिति बढेको छ ।

रवि लामिछाने मन्त्री पदबाट हटेसँगै मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफर गरिएको छ । गृहको महत्वपूर्ण मानिने शान्ति सुरक्षा समन्वय महाशाखामा जितेन्द्र बस्नेतलाई ल्याइएको छ । उनी चितवनमा सिडिओ हुँदा प्रचण्डका सहयोगीहरू सँग निकटता कायम गरेको आधारमा सो अवसर पाएका हुन् ।

चितवनमा हुँदा घुससहित पक्राउ परेका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नबुझाई मिलापत्र गरेको घटनामा उनी मुछिएका थिए । जसमा उनलाई विभागीय कारबाही गर्न अख्तियारले पत्राचार गरेको थियो । शान्ति सुरक्षाको विषयमा ज्ञानसमेत नभएका उनलाई सो जिम्मेवारी दिइएको छ ।

त्यस्तै, यसअघि शान्ति सुरक्षा महाशाखामा रहेका फणिन्द्रमणि पोखरेल आन्तरिक व्यवस्थापन महाशाखाको प्रमुख भएका छन् । बालकृष्ण खाण गृहमन्त्री हुँदा मन्त्रालयमा उनको रजगज थियो । त्यस्तै, प्रशासन महाशाखामा केदारनाथ शर्मा छन् । योजना महाशाखामा बसेका सोझा सहसचिव डा.भीष्मकुमार भुषाललाई मधेस प्रदेशमा लखेटिएको छ । पछिल्लो एक वर्षमा उनले मन्त्रालयमा नीतिगत रुपमा महत्वपूर्ण कामहरु गरेका थिए ।

मन्त्रालयका बदनामहरु पुरस्कृत हुँदा इमान्दार र क्षमतावान सहसचिव भुषाललाई भने अन्याय गरिएको चर्चा मन्त्रालयमा छ । सहसचिव भुषालले फेसबुकमा स्टाटस लेखेरै आफुमाथि भएको अन्यायको विरोध गरेका छन् । उता मन्त्रालयमा एक दर्जन सहसचिव र उपसचिव हाजिर गर्दै फर्कने गरेका छन् ।

पछिल्लो समय सुराकी खर्चका नाममा पनि अनियमितता बढेको छ । रवि लामिछाने एक महिना मन्त्री हुँदा उनले सुराकी खर्च दुरुपयोग गरेनन् ।

तर, सचिव लगायत कर्मचारीले भने महिनामै दुई लाख भन्दा धेरै सुराकी खर्चका नाममा बजेट दुरुपयोग गर्दै आएको स्रोत बताउँछ । साथै प्रहरीले प्रहरी दुरुपयोग रोकेकोमा प्रहरी चालकहरु फेरि गृहमा फिर्ता हुन थालेका छन् । आरजु देउवाको सेटिङमा गृहसचिव भएका सिंह अब मन्त्रालयमा कांग्रेसकै मन्त्री आउने भन्दै फुर्ती गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्