Logo
Logo

पाथीभरामा मौसम खुलेपछि…! (भिडियोसहित)


एमपी सुब्बा

0
Shares

  • एमपी सुब्बा

काठमाडौं, ६ कातिक । ‘छिन–छिनमै हुस्सु, बादल र वर्षा अनि हिमपात’ ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा पुग्नुअघि यस्तै सुनेको थिएँ । समूद्री सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित पाथीभरा दर्शन गरेर आउने अधिकांश सुनाउँथे, ‘त्यस्तै–उस्तैले उकालो चढ्न त आँटै पु-याउँदैनन् ।’ तर, यसपटक सुनेँभन्दा फरक लाग्यो पाथीभरा दर्शन ।
तल्लो फेदी (ठूलो फेदी)बाट करिब ३ घण्टाको ठाडो उकालो छिचोलेपछि बिहान ५ः४५ बजे सुर्यको किरणसँगै पाथीभरा मन्दिरको दर्शन पाइयो । ‘आहा, मौसम कति राम्रो’ पहिलोपटक पाथीभरा दर्शनमा पुगेका तेह्रुथमका तिर्थराज लिम्बूले भने, ‘बाहै्र महिना हुस्सु र हिँउँपर्छ भनेको सुनेको थिएँ, तर, आज घाम लाग्यो ।’ घाम लागेपनि मौसम चिसै थियो । तर, सफा मौसम र बिहानको सुर्यको लालीले कूम्भकर्ण र कन्चनजंगा प्रष्टै देखिन्थ्यो ।

पाथीभराको दर्शनसँगै आफ्नै अगाडि सेतो हिमाल देख्न पाउँदा दर्शनार्थी खुसीले दंग देखिन्थे । ‘मेरो यो दोस्रो पाथीभरा देवीको दर्शन हो’, रामेछापका शिव न्यौपानेले भने, ‘पहिलोपटक आउँदा हुस्सु र बादलले केही देखिएको थियो । पानी परेर विजोग भइएको थियो । तर, आज मौसम खुलेको छ । आनन्द र रमाइलो लागिरहेको छ ।’
मौसम खुलेसँगै पारिलो घामले कुम्भकर्ण हिमाल र कञ्चनजंगा टल्किँदा पाथीभराको थप सुन्दरता खुलेको थियो । भक्तजनमात्र नभएर पुजारी पनि खुसी थिए । ‘यसरी बिहानै मौसम खुलेको यो वर्ष आजै हो’ पुजारी डिल्लीरमण आचार्यले भने, ‘आज साँच्चिकै राम्रो साइत परेछ ।’ उनले अधिकांश समय मौसम बदलिरने बताए । ‘यहाँको मौसमको भरै हुन्न’ उनले भने, ‘अहिले घाम लागेको छ, एकछिनमै पानी पर्न सक्छ ।’
अधिकांश समय पाथीभरको मौसम शून्य डिग्री हुन्छ । त्यो दिन अर्थात गएको २६ असोजको बिहान पनि तापक्रम शून्य थियो । तर, मौसम खुलेका कारण भक्तजन निर्धक पुजाआजामा जुटिरहेका थिए । पहिलोपटक पाथीभरा देवीको दर्शन गर्न पुगेकाहरु उल्लासमा देखिन्थे । पाथीभरा दर्शन गर्न जाँदा उकालो चढ्न मात्र गाह्रो, माथि पुगिसकेपछि सबै थकान मेटिन्छ ।

दैनिक हजारौँ भक्तजन

ताप्लेजुङ ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । प्रसिद्ध धार्मिकस्थल पाथीभराले गर्दा झनै चर्चित छ ताप्लेजुङ । बिहानदेखि बेलुकासम्म दैनिक हजारभन्दा बढी पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्छन् । यसपटक दशैँ विदाको सदुपयोग गर्दै पाथीभरा दर्शन गर्न जानेको घुँइचो थियो । पाथीभराको दर्शन गर्न भक्तजनलाई रात–दिन २४सै घण्टा सुविधा छ । रात–दिन पाथीभराको उकालो चढ्ने र ओरोलो झर्नेको भीड देख्न पाइन्छ । अरुबेला भन्दा दसैँ–तिहार र हिउँदे बिदाको बेला पाथीभरामा भीड लाग्ने गरेको त्यहाँको स्थानीय नारायण सुवेदीदले बताए । उनले भने, ‘यो सिजनमा त दैनिक ३ हजारभन्दा बढी दर्शनार्थी आइरहेका छन् ।’
जिल्लाको सबैभन्दा प्रसिद्ध कञ्चनजंघा र धार्मिक आस्थाकी धरोहर पाथीभरा देवी साक्षत शक्तिपीठ हुन् । आफ्नो मनोकांक्षा पूरा हुने अभिप्रायले पाथीभरा मन्दिरमा पूजाआजा गर्न देशभरीका मात्र नभएर भारतको आसाम, दार्जिलिङ र तेस्रो मुलुकमा पर्यटकहरु समेत पाथीभरा आउने गरेका छन् । पाथीभरा दर्शनका लागि जाँदा पदयात्रा र प्राकृतिक सौन्दर्यताको समेत अनुपम आनन्द लिन सकिन्छ ।

पाँच किमी उकालो

 

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि पाँच किलो मिटर पक्की सडक पार गरेपछि पुगिन्छ सुकेटार एयरपोर्ट । करिब २४ सय मिटरको उचाइमा रहेको सुकेटार एयरपोर्टलाई प्रायः बाक्लो कुहिरो र हुस्सुले ढाकेको हुन्छ । त्यहीबाट थाहा हुन्छ पाथीभराको मौसम । उक्त दिन सुकेटार खुलेको थिएन । सुकेटारबाट पाथीभरा जानेक्रममा तल्लो फेदी १९ किमी कच्ची सडक छ, जहाँ बलेरो र ल्याण्डरोभर गाडीमात्र गुड्छ । १९ किमी करिब पौने दुई घण्टाको यात्रापछि तल्लो फेदी पुगिन्छ । त्यसपछि पाथीभराको पदयात्रा सुरु हुन्छ । तल्लो फेदी सुत्दैन । बस्ने, खाने लज तथा होटलहरु भएपनि रातभरी उकालो–ओरालो गर्ने भक्तजनले गर्दा फेदी जाग्राम बस्छ ।

मानव टेक्सी

तल्लो फेदीबाट पाथीभरा पुग्न पाँच किलोमिटर ठाडो उकालो चढ्नुपर्छ । त्यो ठाडो उकालो हेर्दै एकपटक निराश भइन्छ । तैपनि पाथीभरा दर्शन गर्ने अभिलाषाले बच्चादेखि बृद्धासम्म त्यो उकालो नापिरहेका हुन्छन् । उकालो–ओरालो हिड्न नसक्नेका लागि त्यहाँ ‘मानव टेक्सी’ मान्छे बोक्ने भरिया समेत उपलब्ध छन् । उनीहरुले मान्छे बोकेको केजीको २ सयदेखि ३ सय रुपैयाँसम्म लिन्छन् । चार वर्षदेखि मानव टेक्सीको काम गर्दै आएका पासाङ दोर्जे शेर्पाले भने, ‘दिनमा तीनदेखि चार पटकसम्म मन्दिर ओहोर–दोहोर गर्छु ।’ उनले मान्छे बोकेको केजीको २ सय रुपैयाँ लिँदै आएका सुनाए । उनीजस्तै त्यहाँ मान्छे बोक्ने तीन सयभन्दा बढी मजदुर छन् । उनीहरुलाई पाथीभरा मन्दिर व्यवस्थापन र प्रहरीले नम्बर समेत प्रदान गरेको छ ।
‘मानव टेक्सी’ उमेश योङहाङले भने, ‘मैले पाँच वर्षदेखि तिर्थयात्रीलाई बोक्दै आएका छु ।’ उनले अहिलेसम्म ६ सयभन्दा बढी तिर्थयात्री बोकिसकेको बताउँदै मान्छे बोक्दा कमाइ पनि राम्रो हुने बताए । मान्छे बोकेरै महिनाको ६० देखि ७० हजारसम्म कमाउने गरेको उनको भनाइ छ ।

गन्तव्य
ताप्लेजुङको पाथीभरा विभिन्न मार्ग हुँदै पुग्न सकिन्छ । झापाको बिर्तामोडदेखि ताप्लेजुङ सडक मार्ग २ सय ३७ किलोमिटर ७ सय ५० रुपैयाँ भाडा लाग्छ । फुङलिङ बजारबाट सानोफेदीसम्म पुग्न ३ सय रुपैयाँ । त्यसपछि करिब २ देखि ३ घण्टाको पद यात्रापछि पाथीभरा पुगिन्छ । त्यस्तै, हवाइमार्गबाट पनि ताप्लेजुङ जान सकिन्छ । तर, वर्षाको समयमा नियमति उडान हुँदैन ।
त्यसैले भरपर्दो गाडी नै हो । पाथीभरा ३ हजार ७ सय ९४ मिटर उचाईमा रहेकाले तापमान प्रायः शुन्य डिग्रीमा हुन्छ । लेक लाग्नबाट जोगिन घरेलु उपचारका सामग्रीहरु तातोपानी, भुटेका मकै, अदुवा, लसुन गरम खाद्य तथा पेय पदार्थ र न्यानो कपडाहरु बोक्नुपर्छ ।

किम्बदन्ती
पाथीभरा देवीलाई साक्षत देवीका रुपमा मानिन्छ । यसको अवस्थिति अन्न भरेको पाथीजस्तै आकृतिको भएकाले पनि पाथीभरा भनिएको कथन रहेको छ । देवीको उत्पतिसम्बन्धी किम्बदन्तीअनुसार भेडी गोठालाले गोठ पाथीभरामा सारेपछि उनको सबै भेडा हराएपछि उनी चिन्तित भएका थिए । राति देवीले आत्मबोध गर्दै भेडा बलीसहित पूजाअर्चना गर्न निर्देशन दिएपछि सोहीअनुसार वलीसहित पूजा गरेपछि हराएका सबै भेडा फेलापरेका थिए भन्ने किम्बदन्ती छ ।

प्रतिक्रिया दिनुहोस्