वर्तमान इतिहासको जगमा उभिएको हुन्छ । र, भविष्य वर्तमानले निर्धारण गर्छ । यो सत्यालोकमा सुदूरपूर्वी प्रदेशको भविष्य छर्लङ्ग छ ।
प्रजातान्त्रिक अभ्यासमा बहुमतको कदर गर्नुपर्छ । यसको मतलव अल्पमतको भावना कुल्चनु प्रजातान्त्रिक अभ्यासको सौन्दर्य होइन । आज, सुदूरपूर्वमा प्रजातान्त्रिक सौन्दर्यको चिरहरण भयो, भावनाहरूमाथि बलात्कार भयो ।
बहुमतको बलमा ‘कोशी’ सावित गराइएको सुदूरपूर्वी भूभागको ऐतिहासिक धरातल सोचिएजस्तो कमजोर होइन । भनिएजस्तो विखण्डन र जातिवादी आलोक त झन हुँदै होइन । र, चाहे जसरी लाद्न सकिने कमजोर धरातल पनि छैन । विगतले पुष्टि गरिसकेको छ ।
वैभवपूर्ण राजनीतिक र सांस्कृतिक इतिहासलाई रछ्यानमा मिल्काएर केहीले बेसरम कलंकको टीका लगाएका छन् । त्यसैले त इतिहासमा फागुन १७ कालो दिन ठहरियो ।
विश्व सन्दर्भले आज (१ मार्च) ‘शून्य भेदभाव दिवस’ थियो । तर, नेपाली राजनीतिक इतिहासमा आजको दिन ‘विभेदको दिन’का रूपमा दर्ज भयो । अबको प्रतीक्षा विभेद विरूद्धको विष्फोटन मात्र हो ।
कोशी सावित गराइएको भूगोल मुख्यगरी लिम्बुवान, किरात र कोचिला सभ्यताको जिउँदो इतिहास हो । यसका लिखित अलिखित कैयौँ प्रमाण छन् । आज ती प्रमाणहरूलाई जसरी अनदेखा गरिएको छ, त्यसको प्रतिफल अर्कै हुन्छ ।
राजनीतिक निर्णयहरू राजनीतिक संघर्षको धरातलमा निर्भर हुन्छ । हाम्रो धरातल राजनीतिक संघर्षकै बलमा स्थापित छ । तर, सुदूरपूर्वी भूभागको सन्दर्भमा सबै राजनीतिक संघर्षहरूको अपमान भएको छ । सबै ऐतिहासिक र सांस्कृतिक वैभवमाथि अन्याय भएको छ ।
राजनीतिक शक्ति निहित समूहसँग सधैँ रहँदैन । आजका कमजोरहरू शक्तिशाली भएको बेला बलियाहरू निरीह बन्नुको विकल्प हुँदैन । विभेदले विद्रोह जन्माउँछ । आज सुदूरपूर्वमा जुन विभेद भयो, त्यसले जन्माउने विद्रोह आँधीको बेगभन्दा पक्कै कमजोर हुँदैन ।
लिम्बुवान आन्दोलनका क्रममा राजकुमार आङ्देम्बे ‘माङतोक’ र मनिल तामाङहरूले बगाएको रगत आलै छ । आज, हजारौँ मनिल र माङतोकहरूका लागि बाटो खनिएको छ । त्यो बाटोमा लामवद्धहरूबाट उत्पन्न हुने परिस्थिति कसलाई हेक्का छ ?
आत्मसम्मानका खातिर लिम्बुवान र किरात भूगोलहरूमा बन्दुक र बारूद्धहरूसँग प्रेम फैलाइरहेका युवाबारे को जानकार छ ? ‘हाम्रो भावनाको सम्मान नभए अलग हुन्छौँ’ भनेर जनमनमा एकएक गर्दै विद्रोह रोपिरहेकाहरूको मनोभाव कसले बुझेको छ ? त्यसको सम्भावित प्रभाव कसले आंकलन गरेको छ ?
भूगोलको भावनामाथि नरसंहार चलाउनेहरू छरछिमेकी नै हुन् । उनीहरूको जन्मकुण्डली तयार पारेर बसेकाहरूबारे कसले सोचेको छ ? आज भूगोलको भावनामाथि खेलबाड गर्नेहरू भोलि कुन आँगनमा रम्न सक्छन् ? अपमानको आवेग र घृणाको विष्फोट भावनामाथि नरसंहार गर्नेहरूमाथि बजारिने कुरा कसले सोचेको छ ?
वस्तुगत अवस्थालाई नजरअन्दाज गरेर इतिहास नामेट पार्दै वर्तमानको धरातल कमजोर पारिएको छ । वर्तमानमा जे भएको छ, त्यसले भविष्यको बाटो कोरेको छ । जुन बाटोले संकटको मञ्जिल पुर्याउने छ ।
संख्या प्राविधिक कुरा हो । तर, भावनाको उचाइ धेरै माथि हुन्छ । मुद्दाको आयातन धेरै ठूलो हुन्छ । भावना जीवित रहँदा जीवन रहन्छ, मुद्दा बाँचेसम्म सबथोक रहन्छ । त्यसैले केही थानको आडम्बरमा बनेको विभेद र अपमानको महल धेरै टिक्दैन ।
सुदूरपूर्वमा मुखौटोहरू उघ्रेका छन् । साधुको भेषमा आएका चोरहरू चिनिएका छन् । त्यही भूगोलमा बगेका रगतमा लत्पतिँदै मुक्तिकाे गीत गाएर लालझण्डा फहराउँदै आशाका किरण छर्नेहरू आज सपेराको तालमा नाच्ने सर्पजस्तै लत्रकै भएका छन् ।
सायद कमरेडहरूलाई हेक्का छैन–
मुक्ति चोकमा उभिएर मुक्तिको गीत गाउँदै ‘कोचिला गणराज्य’ घोषणा गरिएको थियो । मेयङलुङलाई साक्षी राखेर ‘लिम्बूवान गणराज्य’ घोषणा गरिएको थियो । र, आदिम सभ्यतासँग बाचा गर्दै ‘किरात गणराज्य’ भनिएको थियो ।
आज ती बाचा र सपना पूरा गर्ने सुनौलो अवसर थियो, इतिहास र भावनामाथि सम्मान गर्दै गौरवको नयाँ इतिहास कोर्ने स्वर्णिम समय थियो । तर, कमरेडहरूले कलंकको टीका लगाए ।
गतिशील समाजमा संघर्षको आयु हुँदैन । आज संघर्ष समाप्त भएको होइन । बरू, संघर्षको बाटो झनै फराकिलो भएको छ । संघर्ष साँघुरो गल्लीहरूबाट फराकिलो फाँटमा अवतरण भएको छ । जुन फाँटहरू रणमैदान बन्न सक्छन् ।
कौरवहरू यसरी नै आफ्नै भूमिबाट खलेटिएका थिए । र, कौरवहरूले रणमैदानबाटै आफ्नो भूमि फिर्ता लिएका पनि थिए । आज पाण्डव भूमिकामा प्रस्तुत मठाधिशहरूले भूगोलको भावनामाथि धावा बोलेका छन् । त्यसको जवाफ रणमैदानबाटै दिने बाटो समात्नु एकमात्र विकल्प हुन्छ ।
अबको संघर्षमा सबैखाले अस्त्रहरू प्रयोग गर्नुको विकल्प छैन । लोकतान्त्रिक मूल्य र मान्यताका अभ्यासबाट पछि हट्ने वा संघर्षको अन्य विकल्पहरू नरोज्ने छुट छैन । योद्धाहरू जुन दिनसम्म संघर्षको मैदनमा रहन्छन्, त्यो दिनसम्म जितको सम्भावना जीवित रहन्छ ।