काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स लिमिटेडले एकआपसमा गाभिए (मर्जर)पश्चात् एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछिको एकीकृत कारोबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नाममा सुरु भएको हो ।
०५१ साल वैशाख २९ बाट सञ्चालनमा आएको प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र ०६३ साल वैशाख १ गतेदेखि सञ्चालनमा आएको सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच १ः१ अर्थात् समान स्वाप रेसियोमा मर्जर भएको हो । कम्पनीको एकीकृत कारोबार नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उद्घाटन गरेका हुन् ।
मर्जरपछि बनेको नयाँ कम्पनीको अध्यक्षमा सुरेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्रबहादुर वैदवार क्षेत्री नियुक्त भएका छन् । मर्जरपश्चात् बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको चुक्तापुँजी दुई अर्ब ८० करोड रुपैयाँभन्दा बढी हुने जनाइएको छ ।
त्यस्तै, बिमा कोषमा दुई अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रहेको उल्लेख छ । यसैगरी, कम्पनीको कुल सम्पति १० अर्ब २५ करोड रुपैयाँ तथा बजार पुँजीकरण १८ अर्ब २३ करोड रुपैयाँ पुगेको जनाइएको छ ।
कम्पनीले जारी गरेको बिमालेख संख्या चार लाख १७ हजार एक सय ८२ रहेको उल्लेख छ । कम्पनीले एक सय २५ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्ने जनाइएको छ ।