Logo
Logo

कांग्रेसको निष्कर्ष : सत्ता र शक्तिका आडमा ‘डोजर काण्ड’


- दृष्टि न्युज/संवाददाता

0
Shares

बैतडी, ८ कातिक । बैतडीको दशरथचन्द नगरपालिका–९ को ग्वाल्लेकमा सडक निर्माण गर्दा भएको घटना सत्ता र शक्तिका आडमा भएको नेपाली कांग्रेसको केन्द्रीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।
कांग्रेसले गठन गरेको केन्द्रीय छानबिन समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनालाई उत्तेजित बनाउन सत्ता र शक्तिको प्रयोग भएको जिकिर गरेको छ । डोजर मालिक दबाबमा परेर डोजर चलाउन बाध्य भएको भनेकाले यसबाट उनलाई सत्ताकै मान्छेहरुले डोजर चलाउन दबाब दिएको बुझिएका छानबिन समितिका संयोजक बहादुरसिंह थापाले बताए । उनले भने, ‘डोजर मालिकसँग कुराकानी गर्दा दबाब थेग्न नसकेर डोजर चलाएको हो भनेकाले यसमा सत्ताका मान्छेहरुको संलग्नता रहेको छ ।’ ग्वाल्लेक घटना हुनुमा स्थानीय प्रशासनको पनि कमजोरी रहेको कांग्रेसले आरोप लगाएको छ ।
पत्रकार सम्मेलनमा संयोजक थापाले जग्गाधनी असोज २७ गते प्रशासनमा आएर ‘हाम्रो गाउँमा समस्या छ, मिलाइदिनु’ भनेर आएका तर प्रशासनले यो कुरालाई ध्यानमा नराखेको पाइएको थापाको भनाइ छ । सडक निर्माणका लागि कुनै बजेट र योजना बिना दुवै पक्ष सहमत नभएरै सडक खन्न खोज्दा झडपको स्थिति आएको र एक महिला घाइते भएको कांग्रेसको छानबिन टोलीले बताएको छ ।
घटनामा सडक निर्माण पक्षले जबर्जस्ती गर्न खोजेको संयोजक थापाले बताए । ‘दुवै पक्षबीच सहमति नभई डोजर चलाउनाले अहिले सामाजिक सद्भावमा नै समस्या ल्याएको छ’, उनले भने, ‘स्थलगत रिपोर्टिङ गरेपछि अब स्थानीय प्रशासन, राजनैतिक दल र अन्य सरोकारवालाहरुसँग बसेर प्रतिवेदन बनाइनेछ ।’
ग्वाल्लेकमा सडक निर्माणका क्रममा डोजरले एक महिलालाई हुत्याएपछि कांग्रेस केन्द्रीय कार्यालयले बहादुरसिंह थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिले बुधबार घटनास्थलमा पुगेर जानकारी संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्