काठमाडौं । सरकारले अधिकांक विभागमा महानिर्देशक हेरफेर गरिसकेको छ । सबै जसो विभागमा चलखेलका आधारमा महानिर्देशक सरुवा गरेको आरोप लागेको छ । उद्योग विभागमा पनि महानिर्देशक सरुवा ठूलै चलखेल भइरहेको छ ।
जागिर खाएदेखि नै कर्मचारीभन्दा पनि नेपाली कांग्रेसको खाँटी कार्यकर्ता बनेर अवसर लिएका सहसचिव यज्ञ कोइराला अवसर लिनका लागि माओवादी केन्द्रका निकट बन्न पुगेका छन् । उद्योग विभागको महानिर्देशक हुनका लागि उनी माओवादी केन्द्र निकट बन्न पुगेका छन् । माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनका नेताहरुसँग आफूले कांग्रेस छाडेको जनाउ दिइसकेका छन् ।
नेपाली कांग्रेसको आडमा उनी २०७३ मा मोरङको प्रमुख जिल्ला अधिकारीदेखि भन्सार र राजस्व विभागसम्म पुगे । शाखा अधिकृतदेखि उपसचिव हुँदै सहसचिव हुँदासम्म कांग्रेसबाट लिनुसम्म लाभ लिएर उनी उपियाँँ फड्केजसरी माओवादी निकट भएर उद्योग विभागको महानिर्देशक हुने दाउमा छन् ।
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीबाट एमालेका दामोदर भण्डारीले राजीनामा दिइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त मन्त्रालय सम्हालेका छन् । यही मौका छोपेर ६१ सहसचिवको सरुवामा उनी भन्सार विभागको डीडीजीबाट उद्योगमा फड्को हानेर महानिर्देशक हुने खेलमा लागेका हुन् ।
उद्योग विभागको महानिर्देशकमा रामचन्द्र तिवारी छन् । उनको १ बर्ष पुगिसकेको र अघिल्लो सरकारले पठाएकाले कोइरालाले चोला परिवर्तन गरी त्यो पद प्राप्त गर्ने कोसिस गरिरहेका छन् । वाणिज्य विभागबाट खोसेर उद्योग विभागलाई पछिल्लो समयमा सुपारी आयातको अनुमति दिने अधिकार पनि सरकारले दिएको छ । त्यसका अलावा ५ अर्बसम्मका उद्योग दर्ता, क्षमता बृद्धि, ट्रेडमार्क दर्ता जस्ता धेरै काम उद्योग विभागबाट हुने भएकाले आकर्षक मानिन्छ ।
कोइरालाले उद्योग विभागको महानिर्देशक हुनका लागि प्रधानमन्त्री दाहालका ज्वाइँ जीवन आचार्यमार्फत् बोलकबोल गरिसकेको स्रोतको दाबी छ । माओवादी बृत्तमा ‘राष्ट्रिय ज्वाइँ’को संज्ञा पाएका आचार्य कोशी प्रदेशका मन्त्रीसमेत हुन् । उनी पछिल्लो समयमा राज्य सञ्चालनमा हावी हुँदै आएका छन् ।