काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वकरमा प्रदेश ३–०२–००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सर्लाही, बलरा नगरपालिका–२ हथियौलमा एचआर २६ सिएच ९७०६ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने हरेशर सहनीको छोरी १८ महिनाकी माया कुमारीकोको सोमबार साँझ मृत्यु भएको छ । कारको ठक्करबाट गम्भिर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषाको मिथिला नगरपालिका–१० लालगढमा प्र.२–०२–००३ प ७७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ पुरुषको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जानकी हेल्थ केयर जनकपुरधाममा उपचार भइरहेको छ ।