काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका एआइजीका दरबन्दीमा बढुवाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच छलफल भएको छ । प्रहरीमा एआइजीका पाँच पद रिक्त छन् । बढुवामा सहमति नहुँदा लामो समयदेखि पद रिक्त रहँदै आएका छन् । ती पदमा बढुवाका लागि बुधबार गृह मन्त्रालय समेत सम्हाल्दै आएका प्रचण्डसँग आइजिपीले छलफल गरेको बालुवाटार स्रोत बताउँछ ।
वरियतामा बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य अगाडि छन् । त्यस्तै, सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी, टेकबहादुर तामाङ, उमेशराज जोशी, भिम ढकाल, राजदत्त जोशी, पोषराज पोखरेल, बुद्धीराज गुरुङ दुर्गा सिंह र किरण राणा पनि बढुवाको प्रतिस्पर्धामा छन् । १६ जनाबाट पाँच जना छान्नुपर्ने भएकाले बढुवामा सहमति हुन नसकेको हो । अर्काेतर्फ अहिले पहिलो नम्बरमा बढुवा हुने नै दुई सातापछि आइजिपी हुने भएकाले पनि बढुवामा ढिलाई भएको छ ।
त्यस्तै, प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवाहद हटाउने बारे पनि छलफल भएको स्रोत बताउँछ ।
गृह मन्त्रालयले सेवाहद हटाउनुपर्ने विषयमा पनि अन्य निकायसँय राय लिने प्रक्रिया अघि बढाएको छ । अर्थ र कानून मन्त्रालय दुवैले यसमा सहमति दिएको स्रोत बताउँछ । यस विषयमा प्रधानमन्त्री प्रचण्ड र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच बुधबार छलफल समेत भएको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।
गत मंसिरमा शेरबहादुर देउवा नेतृत्व सरकारले अध्यादेशमार्फत प्रहरी ऐन संशोधन गरी सेवाहद हटाउने प्रयास गरेके थियो । तर, त्यसले मूर्तरुप पाएन । अहिले यो विषयमा गृह मन्त्रालयले फेरि प्रक्रिया अघि बढेको छ ।
३० वर्षे सेवाहदले प्रहरी संगठनलाई कमजोर बनाएकाले यसलाई हटाउनुपर्नेमा सबै प्रहरी अधिकारी सहमत छन् । तर, विस्तृत अध्ययनबिना नै हटाउँदा कुनै ब्याचलाई धेरै फाइदा हुने र केहीलाई मर्का पर्ने भएकाले यसमा विवाद हुने गरेको छ । अहिले पनि संगठनभित्र विस्तृत छलफल र वृत्ति विकास योजनाबिना नै यो विषय अगाडि बढाइएपछि कतिपय प्रहरी अधिकारी सशंकित बनेका छन् । नयाँ आइजिपी नियुक्तिका लागि अनुभवी उम्मेदवार नभएकाले पनि अहिलेकै नेतृत्वलाई निरन्तरता दिन सेवाहद हटाउन लागिएको बताइन्छ ।