Logo
Logo

रातलाई नै ब्युँझाइदिने त्यो प्रश्न


819
Shares

गर्मीको छुट्टी सकियो, काठमाडौंको बसाई पनि सकियो । तर गर्मी सकिएको थिएन । काठमाडौंबाट फर्केपछि तराईको गर्मी अझै चर्को लाग्यो मलाई । मनले खप्न खोजेपनि शरीरले खप्नै सकेन– र शरीर झूठ बोल्न जान्दैन । मेरो अनुहारभरी खटिरा निस्क्यो, जीउभरी घमरा…। सानो बच्चालाई पनि घमरै घमरा !

सुरुमै भनेकी थिएँ, ‘म त गर्मी खप्नै नस्कने मान्छे, गर्मीको बेला कसरी काट्ने होला ? घरबेटिसमेत रहेका स्कूलको प्रिन्सिपल कामरेडलाई म दाजु नै भनेर सम्बोधन गर्थें । सुरुमा त दाजु नै भएर उनले मलाई आश्वासन दिएका थिए– ‘मेरो स्टोरमा फ्यान थन्किएको छ, त्यो निकालेर दिउँला नि, किन अहिल्यै डराउनु हुन्छ ?’ तर व्यवहारमा भने त्यो आश्वासन फुस्रो साबित भयो ।

खपिनसक्नु गर्मी थियो । दिउँसो त काममा अल्मलिएर गर्मी भुल्थें र जसोतसो दिन काट्थें, रातमा भने झनै गर्मी लाग्थो । उनले भनेको त्यो पङ्खा स्टोरबाट कहिल्यै निस्कनै चाहेन ।

जीवनमा एउटा परीक्षा दिएर नपुग्दो रहेछ । त्यो गर्मी याममा पनि काठमाडौंका साथीहरुबीच देखेर आएको चीसो निराशाको कुइरोले ममा भएको उर्जा नघटेको होइन । तर जति अनुभव जम्मा भए पनि उमेर त अझै काँचै थियो । जस्तोसुकै अवस्थालाई पनि सामना गर्न सक्ने आँट अझै ढलिसकेको थिएन ।

उद्देश्य प्राप्तिका निम्ति एकचित एकमनले दौडिनुपर्छ भनेर मनले मनलाईनै सम्झाइरहन्थ्यो । भोगाइले जे भनोस्, गन्तव्य अझै पनि बिर्सेको थिएन र त्यो टाढा पनि लाग्दैनथ्यो ।

सानो बच्चा स्याहार्दै गरेको बेला तराइको त्यो गर्मी भने मेरो सहने शक्तिभन्दा झन्–झन् चर्को हुँदै गयो ! एकरात त सीमा नै नाघेको अवस्थामा पुगें । राती कतिबेलादेखि उठेर मेरो सर्वस्व बनेकी सानी छोरीलाई पङ्खा हम्किरहेकी रहेछु ।

बच्चालाई भइरहेको उकुसमुकुस खप्न अझै गाह्रो भयो मलाई । एउटा मात्र झ्याल भएको कोठा, हावा पनि गुम्सिएर मूर्छापरे जस्तो ! संसारै उल्टोबाट घुमेजस्तो के भएको ? जीवनमा के गल्ती गरेकि थिएँ र यो अवस्थामा डल्लिन आइपुगें भन्ने लाग्न थाल्यो ।

नजिकैको साथी मनु भने निदाइ नै रहेकी थिइन् । म उठें । पानी पिएँ र बच्चाको टाउको र जीउमा समेत पानी छर्किदिएँ । पानी आफै तातो थियो । र पनि हुनसक्ने जति कोशिस गरेँ । लगातार हाते पङ्खा हम्काइरहँदा हात पनि थाक्यो । नजिकैको डायरी पल्टाएँ र डायरीसँग कुरागर्न थालें । त्यो कुराकानीबाट एउटा प्रश्न फुत्त निस्कियो । कलमले इमान्दार भएर लेख्यो–
‘…कति साह्रो गर्मी हो यो !’ प्रश्न मैसँग तेर्सिन थाल्यो– ‘केका निम्ति खप्दैछौ यो गर्मी ?’ अनि आफ्नै मनले– ‘किन खप्न लगाउँदैछु यति सानी बच्चीलाई ?’ ‘…कसैको दास जस्तो भएर चुपचाप यो खप्नु कसरी क्रान्ति हुनसक्छ !’

फनफनी घुमिरहेको सिलिङ फ्यानमुनी मस्त निदाईरहेका घरबेटी ‘कामरेड’को क्रान्तिकारीता र यो गर्मीमा बच्चालाई समेत लिएर बसेकी मेरो मनस्थितिबीचको दूरी के हो ? कसरी काट्ने हो यो रात… ?

सबै कठिनाईलाई जितेरै अगाडि बढ्छु भन्ने मेरो मानसिकतालाई जिस्क्याउँदै त्यो रात फेरि अर्को एउटा अग्नि परीक्षाको कुण्ड भएर आयो । जति–जति गर्मी बढ्यो मनको तापक्रम पनि बढ्न थाल्यो । फर्किफर्कि एउटै प्रश्न आइरह्यो – ‘आखिर केका निम्ति खप्दैछु यी सब ? क्रान्तिको आवरणमा कसैका निम्ति बेकारको सजाय त काट्दै छैन ? अब त सोच्ने बेला भयो कि !…!

यो प्रश्नले मनमा डेरा जमाएपछि विगतको म र त्यो वर्तमानको मबीच केही दूरी देखा पर्नथाल्यो । झन्–झन् लाग्न थाल्यो– अब धेरै खप्नुको अर्थ छैन…।

तर त्यो भोगाई त मेरो थियो । मेरै मनमा मात्र आयो यो सोँच । अरुको विवेकमा कुनै परिवर्तन आएको थिएन । सबै अवस्था यथावत् रह्यो । अनुहारको घाउ खटिरामा मान्छेको आँखा पर्थ्यो ।

‘गर्मी खप्न नसकेर आएको’ भन्थेँ सबैलाई । तर त्यो बेला एउटा फ्यान किन्नसमेत न त आफूसँग पैसा पुग्थ्यो, न त मलाई त्यहाँ काम ‘दिएर’, ‘दया’ वा ‘सहयोग’ गरेको ठान्ने प्रिन्सिपल ‘कामरेड’ले नै आफ्नो वचनलाई सम्झे ।

के सोचेर गएकी थिएँ, के पो भयो । तर अहिले लाग्छ, त्यो प्रश्नले मलाई नयाँ मोड लिन सघायो । जीवनमा बरोबर उठ्ने महत्वपूर्ण प्रश्न मध्येकै एक ठूलो प्रश्न रहेछ !

बच्चा हुर्काउने दायित्व त मेरै थियो । आफ्नो बच्चा कसैलाई सुम्पेर ‘होलटाइमर’ हुन मैले कदापि चाहिन । हुर्किदँै गरेकी बच्ची ज्यादै चहकिली थिइ । समयभन्दा पहिल्यै धेरै कुरा सिकिसक्थी । त्यो बेला नै स्वतन्त्रता खोज्थी ।

पढ्नै पर्ने नौलो पुस्तक पनि भैदिइ ऊ मेरो निम्ति– जीवनको सबभन्दा महत्वपूर्ण पुस्तक ! त्यही पुस्तकलाई बिहान बेलुकै जतिखेर पनि च्यापेर बस्थेँ । दिउँसो ऊ मनुको साथमा हुँदा पनि म सँगसँगै नै हुन्थें । कागजका अरु पुस्तकहरुबाट त टाढिनु नै परेको थियो त्यो बेला ।

यतिखेर पनि ती प्रश्नहरु बेला बेलामा दोहोरिएर आउँछन्– साँच्चै किन त्यो दुःखको जाँतोमा पिसिन गएकी होली म ? त्यसको के अर्थ छ ? अर्थ खोज्छु, अब लाग्छ– त्यो प्रश्न नआएको भए जीवनमा नयाँ मोड पनि आउने थियो कि थिएन !

संयोगले नै भनुं, यी हरफहरु लेखिरहँदा त्यो समयको प्रश्न र यो समयको यथार्थलाई जोड्ने अनेक घटना भइरहेका छन् । त्यो बेलाका नेता–कार्यकर्ताका छोराछोरी पुस्तामा धेरैको बिहे भैसकेको छ । कतिका नाति–नातिनी पनि भैसकेका छन् ।

त्यो बेलाका युवा नेताहरु मध्येकै एकजनाको छोरीको बिहेभोजको निम्तोमा भर्खरै पुग्दा एउटा नौलै अनुभव भयो । लामो समयपछि भेट भएका र अहिले ‘ज्येष्ठ नागरिक’ नै भैसकेका धेरै नेताहरुको अनुहारमा हाँसो हराए जस्तो लाग्यो । त्योबेलाको महान र सुन्दर उद्देश्य त कता पुग्यो, कता ! सत्तासँग जोडिएको स्वार्थको माटोमा हुर्किएको चर्को आपसी द्वेषभावको भारी बोकेर ती हिँडिरहेका छन् ।

कुनै बेला उनीहरु सरह नै काम गरें जिम्मा लिएँ हुँला, कति आवश्यक र कति अनावश्यक दुःख पनि पाएँ हुँला । तर ठूलठूला राजनीतिक परिवर्तनपछि पनि ‘खै मेरो भाग ?’ भन्नु परेन । सत्ताको लुछाचुँडीमा मुछिनु परेन ।

सबैलाई टाढैबाट नमस्कार गर्दै फर्किरहँदा लाग्दैथियो जीवनमा सबैभन्दा ठूलो कुरा त विवेकमा उभिएको स्वाभिमान र स्वतन्त्रता नै रहेछ । त्यो स्वतन्त्रता र स्वाभिमानलाई कतै बन्दगी नराखिकन एक साधारण नागरिक हुन पाउँदाको अनुभूति पनि गज्जबको आनन्ददायी हुँदोरहेछ ।

प्रतिक्रिया दिनुहोस्