Logo
Logo

रामचन्द्र पौडेल : क्याम्पस सभापतिदेखि राष्ट्रपतिसम्म


12.7k
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बनेका छन् । बिहीबार राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा ३३ हजार ८०२ मतभार पाएर ८९ वर्षीय पौडेल राष्ट्रपति बन्न सफल भएका हुन् ।

राचन्द्र पौडेलले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाए । उनलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाए ।

यस्तै, राष्ट्रपतिका अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मतभार पाए । उनलाई ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत दिए ।

संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए भने संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले भने मतदानमा सहभागी जनाएनन् ।

रामचन्द्रको राजनीतिक यात्रा

वि.सं २००१ साल असोजमा तनहुँको रिस्तीमा जन्मिएका रामचन्द्र पौडेल वि.सं २०१७ सालदेखि विद्यार्थी राजनीति गर्दै २०४८ सालदेखि संसदीय यात्रा प्रारम्भ गरेका थिए । यहाँसम्म आइप्ग्दा उनी ६ पटक सांसद निर्वाचित भए । ०४८ मा साविकको तनहुँ १ र त्यसपछि तनहुँ २ बाट विं.सं. २०५१, २०५६, २०६४ र २०७० बाट सांसदमा निर्वाचित पौडेलले त्रिविबाट नेपालीमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्म अध्ययन गरेका छन् ।

विसं २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्थ गरिएपछि १६ वर्षको उमेरदेखि उनी प्रजातान्त्रिक शासन व्यवस्था स्थापनार्थ राजनीतिमा प्रवेश गरेका थिए ।

नेपाली काँग्रेसले २०१८ सालमा सञ्चालन गरेको सशस्त्र क्रान्तिमा सहभागी हुँदै पौडेल विसं २०१९ को स्वतन्त्र विद्यार्थी आन्दोलनमा अभियानकर्मीका रुपमा भूमिका निर्वाह गरे ।

यस्तै, विसं २०२३ मा सरस्वती क्याम्पस विद्यार्थी युनियनको सभापति निर्वाचित भएका पौडेलले सोही वर्ष संस्थापक सभापति भइ गण्डकी विद्यार्थी समितिको स्थापनाका लागि नेतृत्व लिएका थिए ।

यस्तै, विसं २०२४ मा प्रजातान्त्रिक समाजवादी युवा लिगको निर्वाचित महासचिव भए भने २०२७ साल बैशाख ६ गते नेपाल विद्यार्थी संघको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

२०३४ सालमा नेपाली काँग्रेस तनहुँ जिल्ला कार्य समितिका सदस्य पदमा निर्वाचित भएका उनी २०३६ सालमा जिल्ला उपसभापति र जनमतसंग्रहका समय सर्वदलीय प्रचार अभियानको अध्यक्ष भइ बहुदलका पक्षमा जनमत निर्माणमा योगदान गरे ।

२०४० सालमा काँग्रेस केन्द्रीय प्रचार समितिको संयोजक र २०४४ सालमा केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालेका उनी पञ्चायत व्यवस्थाविरुद्ध ३० वर्ष संघर्ष गरी २०४६ सालमा प्रजातन्त्र स्थापनापछि २०४८ सालको संसदीय निर्वाचनमा तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

उनले संसदीय निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा स्थानीय विकासमन्त्रीको कार्यभार सम्हाल्ने मौका पाएका थिए । नेता पौडेलले २०४९ सालमा कृषि मन्त्रालयको थप जिम्मेवारीसमेत लिए ।

२०५१ को मध्यावधि निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट संसदमा निर्वाचित भएपछि पौडेलले पाँच वर्षसम्म सभामुखको भूमिका निर्वाह गरेका थिए । विसं २०५६ को संसदीय निर्वाचनमा पुनः तनहुँ क्षेत्र नं २ बाट सांसद बनेका पौडेलले २०५७ सालमा उपप्रधानमन्त्री, गृह एवं सञ्चारमन्त्रीको पदभार ग्रहण गरेका थिए ।

यस्तै, ०६२ मा काँग्रेसको महामन्त्री बनेका पौडेलले २०६३ सालमा पुनःस्थासपत संसद्को सदस्य भई तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियाको मूलधारमा ल्याउन महत्वपूर्ण योगदान गरेका छन् ।

तत्कालीन माओवादीसमेत संलग्न २०६३ सालमा गठन भएको सरकारमा उनी शान्ति तथा पुनःनिर्माण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । ०६४ मा काँग्रेस उपसभापति भएका पौडेल २०६४ सालको संविधानसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाटै चौथोपटक सांसद निर्वाचित भए ।

२०६५ मा काँग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका उनी २०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा पनि तनहुँ २ बाटै पाँचौँ पटक सांसद बने ।

निरंकुश राजतन्त्रविरुद्ध लड्ने क्रममा २०१९ देखि २०४६ सालसम्म पटक–पटक गरी १३ वर्ष राजनीतिक बन्दी जीवन बिताएका पौडेल स्वतन्त्रता र प्रजातन्त्रबाट मात्रै जनताको सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक अधिकारको संरक्षण हुन सक्छ भन्ने वैचारिक मान्यता राख्छन् ।

लेखनमा रामचन्द्र पौडेल
रामचन्द्र पौडेलका राजनीतिकसँग समसामयिक राजनीतिसम्बन्धी पुस्तकसमेत प्रकाशन भएका छन् । ‘प्रजातान्त्रिक समाजवाद : एक अध्ययन’ २०४६, ‘नेपाली काँग्रेस के भन्छ ?’ २०४८ र ‘नयाँ सन्दर्भमा समाजवाद’ २०५२ लगायत विभिन्न समकालीन राजनीति र मानवअधिकारसँग सम्बद्ध उनका पुस्तक र लेखहरु प्रकाशित छन् ।

अंक गणितमा रामचन्द्र पौडेल
जन्म : वि.सं २००१
०१७ : राजनीतिमा प्रवेश
०१८ : सशस्त्र क्रान्तिमा सहभागी
०२३ : सरस्वती कलेजको स्ववियु सभापति
०२७ : नेपाल विद्यार्थी संघ स्थापनाको अगुवाइ
०४४ : नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचार विभाग प्रमुख
०४८ : तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित । स्थानीय विकासमन्त्री
०४९ : कृषिमन्त्री
०५१ : मध्यावधि निर्वाचनमा तनहुँ–२ बाट संसद सदस्य र सभामुखमा निर्वाचित
०५६ : तनहुँ–२ बाट तेस्रोपटक निर्वाचित
०५७ : उपप्रधान तथा गृह र सञ्चारमन्त्री
०६२ : नेपाली कांग्रेसको महामन्त्री
०६३ : शान्ति तथा पुनःनिर्माणमन्त्री
०६४ : कांग्रेस उपसभापति
०६५ : संसदीय दलको नेता
०७० : संविधानसभा निर्वाचनमा तनहुँ–२ बाट निर्वाचित
०६७ : प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार, १७ पटकसम्म प्रतिस्पर्धामा पराजित
०७२ : सभापति पदका प्रत्याशी
०७९ : तनहुँ–१ मा सांसद निर्वाचित
०७९ : मुलुकको राष्ट्रपति

प्रतिक्रिया दिनुहोस्