काठमाडौँ, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
“नेपालको मौलिक संवत्को रूपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरूमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा भनिएको छ ।
राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गर्नुभएको छ । (रासस)