काठमाडौं । नेपाल ट्रष्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकालाई लिजमा दिने निर्णय भएको छ । गत साता बसेको ट्रष्टको सञ्चालक समितिको बैठकले यससम्बन्धि प्रस्ताव स्वीकृत गरेको हो । बोर्डबाट निर्णय भएलगत्तै सम्झौताका लागि ट्रष्टले महानगरपालिकालाई पत्राचार गरेको छ ।
मासिक ६० हजार ५० हजार रुपैयाँ भाडा तिर्ने सर्तसहित सम्झौताका लागि पत्राचार गरिएको ट्रष्टका कार्यकारी सचिव सरजु कुमार बैद्यले बताए । ‘हामीले सर्तसहित १० वर्ष भवन लिजमा दिन पत्राचार गरेका छौं,’ उनले भने,‘महानगरले यस विषयमा जानकारी दिएपछि सम्झौतामा हस्ताक्षर हुनेछ ।’ ट्रष्टको सर्तअनुसार हरेक दुई वर्षमा भाडा बढ्नेछ ।
काठमाडौं महानगरपालिकालाई उक्त भवन दिने गरी असार ०७७ सालको जेठमा नै सहमति भई मन्त्रिपरिषद्ले स्वीकृतिसमेत दिएको थियो । त्यसविरुद्ध व्यवसायीले दायर गरेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएपछि पक्रिया रोकिएको थियो । गत २६ माघमा सर्वाेच्चका न्यायाधीशद्वय विश्वम्भरलाल श्रेष्ठ र कुमार रेग्मीको इजलासले यससम्बन्धी दुई रिट खारेज गरिदिएपछि लिजमा लिने प्रक्रिया अघि बढेको हो ।
उक्त भवन लिजमा लिएको कम्पनी कन्सेप्ट डेभलपर्स र त्यसअघि भवन लिजमा लिने सुवासराज काफ्लेले महानगरपालिकालाई लिजमा दिने निर्णयविरुद्ध रिट दायर गरेका थिए । डेढ वर्षपछि रिटको छिनोफानो भएको हो । मुद्दा–मामिलाका कारण काठमाडौं प्लाजा झन्डै तीन वर्षदेखि रिक्त छ । जसकारण ट्रस्टले करोडौँ भाडा गुमाइसकेको छ । २०७७ को असार २ गते लिज अवधि सकिएकोमा त्यसयताको भाडा ट्रष्टले गुमाएको हो ।