Logo
Logo

जुवाडेले भरिए प्रहरी हिरासत, तिहारमा ४ सय ६५ जना पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १४ कात्तिक ।
तिहारको अवधिमा जुवा खेल्ने चार सय ६५ जना पक्राउ परेका छन् । देशभरी ४३ जुवाखालबाट चार सयउ ६५ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दसैँ र तिहारमा मात्रै काठमाडौबाट दुई सय ८४ जुवाडे पक्राउ परेका छन् ।

३२ ठाउँमा छापा मारेर जुवाडे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीहरूबाट नगद मात्रै तीन करोड २२ लाख ४२ हजार नौ सय आठ रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार दसैँ तिहारमा पक्राउ पर्ने जुवाडेको संख्या अहिलेसम्मकै धेरै हो ।

प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले १ असोजदेखि १३ कात्तिकसम्म ३२ ठाउँमा छापा मारेको बताए । उनले भने, ‘दसैँ र तिहारमा ३२ जुवा खालमा छापा मारियो । जसमा दुई सय ८४ पक्राउ परे । यो संख्या अहिलेसम्मकै ठूलो हो । सबै जुवाडेविरुद्ध जुवा ऐनअन्तर्गत अदालतमा मुद्दा दर्ता हुन्छ । कसैले पनि उन्मुक्ति पाउँदैनन् ।’

प्रहरीका अनुसार परिसर मातहत १४ वटा हिरासतकक्ष छन् । सबै हिरासतकक्षमा तीन सय संख्यामा थुनुवा अटाउन सक्छन् । जुवाडेलाई थुना राख्ने प्रबन्ध मुस्किलले गरिएको प्रहरीको भनाइ छ ।
महाराजगञ्जको मिनि क्यासिनोबाट प्रहरीले दुई करोड ६७ लाख रुपैयाँसहित २५ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्