गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिका रूपमा विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल पूरा गरेका छन् । सोमबार नेपालको तेस्रो राष्ट्रपतिका रूपमा रामचन्द्र पौडेलले शपथ लिएसँगै उनी शीतलनिवासबाट बिदावारी भए । भोलि के गर्छन्, थाहा छैन । अहिले भने उनी बूढानीलकण्ठस्थित आफ्नै घरमा फर्केका छन् ।
केही दिन नेपाली मिडियामा विद्यादेवीको कार्यकाललाई लिएर सकारात्मक, नकारात्मक बहस पैरवी हुनेछ । शायद, त्यसैको आधारमा समाजमा विचार निर्माण वा विनिर्माण पनि होला । केही पक्षमा लाग्लान्, कोही विपक्षमा । कोहीले उनको कार्यकाल सफल भएको भनेर आरती उतार्लान् भने, कोहीले उनको कार्यकाललाई कालो कार्यकाल नै पनि भन्लान् ।
यथार्थमा यी दुवै अतिवाद हुन् । सत्य के हो भने उनको कार्यकाल न आरती उतार्न लायक रह्यो न कालो कार्यकाल नै भन्न लायक । भएको चाहिँ के हो भने उनको कार्यकाल विवादमुक्त रहेन ।
रातको १२ बजे पनि राष्ट्रपति कार्यालय खुला राखेर उनले दुईपटक संसद् विघटन गरिदिए । यसलाई संवैधानिक राष्ट्रपतिको कर्तव्य भनेर जति नै बचाउ गरे पनि त्यसमा कुनै तुक छैन । किनकि, ओलीबाहेक अरू प्रधानमन्त्रीले गरेका संवैधानिक सिफारिस र संसद्ले पारित गरेको विधेयकसमेत प्रमाणीकरण नगरेर उनले त्यसको आफै खण्डन गरे ।
सारमा, संविधानको संरक्षक भनिएका विद्यादेवीले आफैँ संविधानको चीरहरण गरे र संवैधानिक राष्ट्रपतिको पदलाई एक किसिमको कार्यकारी पदको आकार दिए । गणतन्त्र नेपालको संस्थागत विकासका लागि उनले गरेको यो अतिरिक्त शक्तिको अभ्यास किमार्थ पनि सही हैन ।
सारमा, संविधानको संरक्षक भनिएका विद्यादेवीले आफैँ संविधानको चीरहरण गरे र संवैधानिक राष्ट्रपतिको पदलाई एक किसिमको कार्यकारी पदको आकार दिए । गणतन्त्र नेपालको संस्थागत विकासका लागि उनले गरेको यो अतिरिक्त शक्तिको अभ्यास किमार्थ पनि सही हैन ।
एक किसिमले भन्ने हो भने राष्ट्रपति हुनुअघि आफूलाई कम्युनिष्ट पार्टी भन्ने एमालेका उपाध्यक्ष रहेका विद्यादेवीले जुन किसिमको हिन्दू राजाको उत्तराधिकारी जस्तो गरेर जे जस्ता कर्म गरे, त्यसले उनी गणतन्त्र नेपालको राष्ट्रपति हुन् भन्ने अनुभूति जनताले गर्न पाएनन् । सलामी र सवारीमै सीमित उनको जीवनशैली पनि कुनै राजा–महाराजाको भन्दा कम रहेन ।
यथार्थ यस्तो हुँदाहुदै पनि एमालेले उनको कार्यकाल स्वर्णिमकाल रहेको ब्याख्या गर्न थालेको छ । त्यसको नेतृत्व एमाले अध्यक्ष ओलीले नै गरेका छन् । उनले त विद्यादेवीको कार्यकाललाई १०० मा १०० अंक नै दिएर ऐतिहासिक नै भनिसके ।
ओलीका अनुयायी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त यसरी विद्यादेवीको आरती उतारे कि, ‘राज्यका हरेक अंगमा सुनिश्चित न्यूनतम एकतिहाइ महिला सहभागितामा, अन्तर्राष्ट्रिय मञ्चमा प्रभावशाली उपस्थितिमा, दुर्गम क्षेत्रहरूबाट उद्धार भएर पुनर्जीवन पाएका सुत्केरी आमा र नवजात शिशुहरूको स्निग्ध मुस्कानमा, कोभिड महामारीका बेला प्राप्त खोपबाट लाभान्वित नागरिकहरूको स्वस्थ जीवनमा, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको अनाहक पीडाबारे विश्वसमक्ष प्रतिध्वनित आवाजलगायत धेरै सन्दर्भमा उहाँका कार्यकालको सधैँ स्मरण भइरहनेछ ।’
विद्यादेवीका क्रियाकलापलाई लिएर आलोचनात्मक रहेको मतलाई उनले यसरी धारेहात लगाउन पनि भ्याए, ‘दुराग्रहपूर्ण, नारीद्वेषी र परपीडक आक्रमणका अन्त्यहीन शृङ्खलाको त के हिसाब भो र !’
यो स्तम्भकार सार्वजनिक जवाफदेही भएका हरेक पदाधिकारीको ‘सोसल–अडिट’ हुनुपर्छ भन्ने मान्यता राख्छ र त्यही मान्यताका आधारमा विद्यादेवीका गतिविधि पनि सोसल अडिटका विषय बन्नुपर्छ भन्ने ठान्दछ ।
तर, दुःखका साथ भन्नुपर्छ, उनको आलोचना हुनेबित्तिकै एमालेले दुईवटा हतियार चलाइ हाल्छ– पहिलो, राष्टप्रमुखमा जनताको छोराछोरी पुगेको देख्न नसक्ने पश्चगामी सोच । दोस्रो, महिलाप्रति असहिष्णु वा नारीद्वेषी । यो स्तम्भकारमाथि पनि यी दुवै हतियार धेरैपटक चले, चलाइए ।
पहिलो हतियारका बारेमा कुरा गर्दा गणतन्त्र नेपालका कुनै पनि राष्ट्रपतिले संविधानको मर्मअनुसार जनताको छोराछोरी नै राष्ट्रप्रमुख भएको प्रत्याभूति दिएनन् । रामवरण हुन् वा विद्यादेवी दुवैले हिन्दू राजाको उत्तराधिकारीका रूपमा धर्मनिरपेक्ष राष्ट्रका राष्ट्रप्रमुखले गर्नै नहुने पक्षपाती व्यवहार नै गरे । राजाजस्तै सलामी र सवारीको सनातनमा फसे । यो वा त्यो नाममा देशको नाडी नछामी अथाह सुविधाभोग गरे । खोपीको राजा नहुने भनेझैं यिनीहरूले पनि संविधानको उछित्तो काढे । उनीहरूको व्यवहार पूर्वराजाको जस्तै भए पनि जनताका छोराछोरी हुन् भनेर चिम्लिन सकिने जति ठाउँमा आँखा चिम्लिएकै हो ।
दोस्रो हतियारको कुरा गर्दा, महिला अवस्था हो, योग्यता होइन । हो, नेपालमा सकारात्मक विभेदका लागि महिलालाई आरक्षण छ । तर, आरक्षणका नाममा हरेक पदमा पुगेका महिलाले महिला संवेदनशीलता पनि देखाइरहनुपर्छ र समयक्रममा आफ्नो श्रेष्ठता पनि पुष्टि गर्नुपर्छ । कुनै एउटा पदमा पुगेपछि त्यो पदले निर्वाह गर्ने भूमिका पुरूष हुँदा एक किसिमको र महिला हुँदा अर्को किसिमको भन्ने हुँदैन ।
त्यसैले भनिन्छ नि कुनै पनि पदको लिंग हुँदैन । नेपालको राष्ट्रपति पदको पनि लिंग हुँदैन । त्यसैले विद्या भण्डारी आफ्नो लिंग महिला भएकै कारणले हरेक कुरामा त्यसैलाई ढाल बनाएर सुरक्षित हुन सक्दैन थिए, सकेनन् ।
उपयुक्त तथ्यका आधारमा विद्यादेवीका पक्षमा उज्याइएका दुवै हतियार भुत्ते हुन् । अझ त्यसमा पनि यो स्तम्भकारको पृष्ठभूमि नजान्नेका लागि ती हतियारको केही अर्थ पनि होला तर जो धेरथोर जानकार छन्, उनीहरू पनि ती हतियारले काम नगर्ने ठान्छन् ।
विद्यादेवीले चाहे पनि नचाहे पनि सत्य के हो भने उनी मदन भण्डारीको हत्यापछि त्यही विरासत जोगाउन राजनीतिमा आएका हुन् । उनले हत्याको बदला लिनेभन्दै चुनावमा जीत हात पारेका थिए र त्यही बाटो हुँदै राष्ट्रप्रमुखसम्म भए । तर, खै त आफ्नो श्रीमान्को हत्यारा उभ्याउन सकेको ? के यो प्रश्न उनलाई नगरी सधैँभरि कार्पेटमुनि नै राखिरहनुपर्ने हो ? मदनको हत्यारालाई एमालेको सरकार बनेको सात दिनमा निकाल्छु भन्ने ओली दुई–दुईपटक प्रधानमन्त्री भए । खै त निकालेको ? यसरी एउटै प्रश्नको उत्तर दिन्छु भन्ने ओली र विद्यादेवीलाई प्रश्न सोध्नै नपाइने भन्ने हुन्छ ?
लोकतन्त्रमा प्रश्न सोध्न पाइन्छ र जवाफ नपाउञ्जेलसम्म मात्र होइन, जवाफबाट सन्तुष्ट नहुन्जेलसम्म प्रश्न सोध्न पाइन्छ । महिला हुनेबितिकै उसलाई प्रश्न सोध्नै नपाइने, प्रश्न सोध्यो कि नारीद्वेषी हुने यस्तो हुँदैन र हुनु पनि हुँदैन ।
जहाँसम्म विद्यादेवी अब लेखनको विषय हुने कि नहुने भन्ने हो ? उनी अब कम लेखिनुपर्छ तर त्यो कसैको चाहनाले मात्र सम्भव हुँदैन । त्यसका लागि उनी र उनका उप्रान्त क्रियाकलापहरू जिम्मेवार हुन्छन् ।
एक पूर्वराष्ट्रपतिका रूपमा उनी राज्यले दिएका सुविधाभोग गरेर सहज जीवन बिताउँछन् कि ती सुविधा उपयोग गरेर एमालेको राजनीति गर्छन््, मूल प्रश्न यही हो । यदि उनले पहिलो बाटो रोजे उनी लेखनको विषय बन्दैनन्, उनको अवकाशको जीवन सहज हुन्छ । तर, त्यसो नगरेर दोस्रो बाटो रोजे भने उनी योभन्दा चर्को किसिमको लेखनको विषय बन्छन् ।
हरेक सार्वजनिक जीवन भएका व्यक्तित्वहरू मिडियाका विषय बन्छन्, लेखनका विषय बन्छन् । विद्यादेवी नेपाल राष्ट्रपति भएकाले उनी ठूलो सार्वजनिक व्यक्तित्व हुन्, त्यसैले उनी लेखनको विषय बनिरहन्छन् । कुन एंगलबाट लेखनको विषय बन्ने भन्नेचाहिँ उनको भविष्यका क्रियाकलापले निर्धारण गर्ने हो ।
यतिबेला अर्को एउटा कुरा पनि सुनिँदैछ, उनी ओलीको उत्तराधिकारीका रूपमा एमाले अध्यक्ष हँुदैछन् । राष्ट्रपति हुँदा उनले गरेको ओलीको तावेदारी र एमालेको राजनीतिमा देखिने गरी खेलिएको भूमिका हेर्दा उनले त्यसो गर्दैनन् पनि भन्न सकिन्न ।
तर, त्यस्तो नहोस् । राष्ट्रप्रमुख भइसकेको मान्छे कुनै एक पार्टीको अध्यक्ष हुनु भनेको गलत नजीर हो । उनीबाट यस्तो गलत नजीर नबनोस्, अब उप्रान्त एक सम्मानित पूर्वराष्ट्रपुमखका रूपमा शान्त सुखाय जीवन बिताउन् । कसैको पक्ष विपक्षमा नलागी नेपाल र नेपालीको पक्षमा लागुन् । उनले आफ्नो हैसियतअनुसार उनको पार्टी, जनता र देशलाई दिइसकिन् र त्यसबापत जति पाउँनुपर्थ्यो, त्योभन्दा हजारगुना बढी पाई पनि सकिन् । कृष्णप्रसाद भट्टराइजस्तो स्वनामधन्य राजनेतालाई पराजित गर्ने मत र राष्ट्रप्रमुखको जिम्मेवारी, योभन्दा धेरै के पाउँनु ?
स्तम्भकार कामना गर्छ, विद्यादेवीको बाँकी जीवन एक अवकाशप्राप्त राष्ट्रप्रमुखका रूपमा शान्त सुखाय बनोस् र कहिलै लेख्नु नपरोस् विद्यादेवी र उनका उप्रान्त क्रियाकलापहरू !