नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा अष्टलक्ष्मी शाक्यको ठूलो योगदान छ । उनको योगदानको कदर गर्ने हो भने उनी उपराष्ट्रपति होइन, राष्ट्रपति नै बन्ने क्षमता राख्छिन् ।
जतिबेला पार्टीमाथि प्रतिबन्ध लागेको थियो, त्यतिबेलादेखि उनी तत्कालीन मालेको भूमिगत कार्यकर्ताको हैसियतले संगठन निर्माणमा जुटेका थिए । काठमाडौँ झोछेँमा जन्मेका नेवारका छोरी भएर पनि कठिन परिस्थितिमा राजनीति यात्रा थाल्दा उनले जति दुःख, कष्ट सायदै नेताहरुले भोगेका होलान् ।
भूमिगत कालमै प्रहरीबाट पक्राउ पर्दा आफू शहीद हुन तयार भएर पनि पार्टी र कार्यकर्तालाई जोगाएको इतिहास छ । त्यही कठोर यात्राले एउटा कलिलो केटी नेपाल कम्युनिष्ट आन्दोलनको इतिहासमा अष्टलक्ष्मी शाक्यको रुपमा उदाए ।
गर्विलो इतिहास बोकेका शाक्यको वर्तमान त्यति सुखद् छैन । सुरुमा पार्टीलाई विधि, पद्धतिसम्मत ढंगले अगाडि बढाउनुपर्छ भन्दै ओली अराजकताविरुद्ध आगो ओकल्ने उनी अन्ततः एमालेकै भुंग्रोमा खरानी बने ।
माधवकुमार नेपालसँग ओलीको व्यक्तिगत रिसइबी केही थिएन । ओली दाम्लो चुडाएर कुद्न चाहन्थे, नेपाल दाम्लो समाएर बाँध्न । यही रस्साकस्सीमा पार्टीभित्र विद्रोह भयो र अन्ततः एमाले विभाजनको डिलमा पुग्यो ।
अष्ट ओलीसँग जति निकट हुन खोजे पनि ओलीको ‘गुडबुक’मा कहिल्यै परेनन् । ओलीले घनश्याम भुसाल, भीम रावलपछि बदला लिने लिष्टमा शाक्यलाई राखेका थिए, अहिले त्यो मौका पाए र हार्ने उपराष्ट्रपतिमा शाक्यलाई उम्मेदवार बनाए ।
त्यतिबेलासम्म शाक्य नेपालकै पक्षमा अडिग थिए । तर अड्न सकेनन् । ओलीतिर लाग्दा पद, प्रतिष्ठा पाइने, नेपालतिर लाग्दा सबै गुम्ने लोभले शाक्यलाई घेर्याे र शाक्यजस्तो संघर्षशील इतिहास बोकेको एउटा योद्धालाई ओलीले उपराष्ट्रपतिमा उठाएर बलिको बोको बनाए ।
शाक्य ओलीसँग जति निकट हुन खोजे पनि ओलीको ‘गुडबुक’मा शाक्य कहिल्यै परिनन् । ओलीले घनश्याम भुसाल, भीम रावलपछि बदला लिने लिष्टमा शाक्यलाई राखेका थिए, अहिले त्यो मौका पाए र हार्ने उपराष्ट्रपतिमा शाक्यलाई उम्मेदवार बनाए ।
माधवकुमार नेपाल निकट नेताहरुलाई ओलीले भविष्यमा यसैगरी बदला लिनेछन् र कम्युनिष्ट आन्दोलनको ऊर्जावान नेताहरुलाई समाप्त पार्दै जाने छन् ।
जहाँसम्म माधवकुमार नेपालको सवाल छ । पार्टी सानो होला, तर त्यस पार्टीको भविष्य लोकतन्त्रलाई संस्थागत गर्न निर्णायक छ । ओलीको प्रतिगमनविरुद्ध नेपालले विद्रोह नगरेको भए लोकतन्त्रमाथि खतराको बादल मडाडिसक्थ्यो । ओली प्रतिगमनले यो संविधान र यसका उपलब्धि ध्वस्त पारिसक्थ्यो । यसको मूल्यांकन त इतिहासले गर्ला नै ।
अहिले ओली र सिंगो एमालेपंक्ति रक्षात्मक अवस्थामा पुगेको छ । कहिले प्रचण्डलाई त कहिले नेपाललाई उचालेर राजनीतिक भद्रगोल निम्त्याउने दाउमा ओली लागेका छन् । सम्पूर्ण वाम शक्तिलाई मिलाएर लैजाने सोच अहिले पनि पलाएको छैन ।
ओलीलाई माधव नेपालभन्दा राजेन्द्र लिङदेन प्यारो लाग्छ । परिणाम राष्ट्रपतिमा उत्तानो पर्याे । अब पालो उपराष्ट्रपतिको आएको छ । परिणाम हात लाग्यो ‘शून्य’ हुने पक्का छ ।
मानिसलाई एकपटक ढाँट्न सकिन्छ, पटक–पटक सकिन्न । प्रचण्डलाई प्रधानमन्त्री नबनाउन शेरबहादुर देउवालाई कतिपटक ढाँटे ? पार्टी एकता गर्दा प्रचण्डलाई कति गफामा झुलाए ? राष्ट्रपति निर्वाचनमा माधव नेपाललाई कसरी फसाउन खोजे ? यस्तै प्रवृत्तिका कारण नेपाली राजनीतिमा ओली खोटो सिक्का भइसकेका छन् ।
यति कुरा पनि नबुझेर शाक्यले उपराष्ट्रपतिमा उम्मेदवारी दिनु ठूलो भुल हो । यदि, शाक्य माधव नेपालकै साथ रहेको भए उपराष्ट्रपति सम्भव पनि हुन्थ्यो होला । अब त माधव नेपालसँग पनि राम राम भन्नुबाहेक अर्को शब्द छैन होला सायद ।