Logo
Logo

इमरान खानलाई पक्रन जाँदा प्रहरी र समर्थकबीच झडप


819
Shares

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी पक्राउ पूर्जीसहित लाहोरस्थित खाननिवास पुगेको छ । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ ।

इस्लामावाद प्रहरीका वरिष्ठ अधिकारी सयद सेहजाद नदिम बुखारीका अनुसार खानलाई गिरफ्तार गर्ने प्रहरीको तयारी छ। ‘प्रहरी गिरफ्तार पत्र सहित खान निवास नजिक छ,’ उनको भनाइ उद्दृत गर्दै अलजजिराले लेखेको छ।

खानको गिरफ्तारीमा समर्थकहरूले अवरोध खडा गरेपछि प्रहरीले दर्जनौँ सेल अश्रु ग्यास प्रहार गरेको छ । भ्रष्टाचार र आतंकवाद सम्बन्धी मुद्दामा उनलाई गिरफ्तार गर्न लागिएको प्रहरीले बताएको छ। खानमाथि महिला न्यायाधीशलाई धम्की दिएको र राज्यका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोग पनि छ ।

गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्युत भएपछि आम चुनावको माग गर्दै आएका थिए ।

यसकै प्रतिशोधका लागि आफूलाई गिरफ्तार गर्न लागेको खानको जिकिर छ। गिरफ्तारको सुईँको पाएपछि खानले आफ्ना समर्थकलाई ट्वीटरमार्फत भिडियो सन्देश दिएका थिए । उनले समर्थकलाई भनेका छन्, ‘आफ्नो हक र स्वतन्त्रताका लागि लड्न नछोड्नु, प्रतिशोधपूर्ण गिरफ्तारीको सशक्त प्रतिवाद गर्नु।’

खानले आम चुनावको माग गरे पनि पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरिफले चुनाव गर्न अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्