काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा आज दिउँसो १२ बजेपछि मात्रै मतदान हुने भएको छ । शनिबार बसेको सर्वदलीय बैठकले आजै उम्मेदवारी दर्तादेखि निर्वाचनका अन्य कार्यक्रम प्रकाशन गरेको हो ।
निर्वाचन कार्यतालिका अन्तर्गत आज बिहान ७ देखि साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यस्तै साढे ८ देखि ९ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, ९ देखि सवा ९ सम्म दाबी विरोध गर्ने र पौने १० बजेसम्म दाबी विरोधपछि छानबिन गरी नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।
१० बजेसम्म नाम फिर्ता लिने, साढे १० मा अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ । प्रत्येक २ वर्षमा हुने गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५ सालदेखि यता हुन सकेको थिएन ।
देशभरका त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक तथा सम्बन्ध प्राप्त अधिकांश क्याम्पसहरूमा नयाँ नेतृतव चयनका लागि मतदान हुँदैछ ।