Logo
Logo

प्रधानमन्त्री ओलीले भने, ‘मलाई मिर्गौलाले दुःख दियो’


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १६ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे ब्रिफिङ गरेका छन् । शनिबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यबारे जानकारी गराउँदै आफूलाई मिर्गौलाले दुःख दिएको बताए ।
प्रधानमन्त्री ग्रान्डी अस्पतालमा दुईपटक डायलासिस भइसकेको र थप उपचारका लागि रिपोर्ट आएपछि अगाडि बढ्ने बताए । उनले आफू सिकिस्त नभएको बताउँदै मिर्गौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस वा पुनः प्रत्यारोपण मात्र विकल्प रहेको बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले केही रिपोर्ट आउन बाँकी भएकाले थप उपचारबारे निर्णय नभएको बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यूले नै आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी गराउनु भएको छ । उहाँ स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना भएर सिकिस्त भएको होइन ।’ उनले प्रधानमन्त्रीको स्वास्थ्यमा केही गम्भीर समस्या देखिएको पनि बताए ।
प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या देखिएपछि बुधबार बिहान ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचारका क्रममा २४ घण्टामा दुईपटक डायलासिस गरिएको थियो । मिर्गौला रोग विशेषज्ञका अनुसार रगतमा पोटासियमको मात्रा बढेमा र छातीमा पानी जम्मा भएमा डायलासिस चाँडो–चाँडो गर्नुपर्छ ।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन् । स्वास्थ्यमा समस्या हुँदा औषधिले राम्रो काम नगर्ने हुँदा बेलाबेलामा प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिने गरेको छ । भदौको पहिलो हप्ता प्रधानमन्त्री ओलीको सिंगापुरमा प्लाज्माफेरेसिस गराइएको थियो ।
रेनल बायोप्सीको रिपोर्टपछि ओली थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए । त्यसअघि छाउनीस्थित सैनिक अस्पताल नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो ।
यसैबीच सचिवालय बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका उम्मेदवारको नाममाथि पनि छलफल भएको थियो । प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा जिल्ला र प्रदेश कमिटिबाट सिफारिस भएर आएका नाममाथि छलफल सुरु भएको हो । उम्मेदवारको टुंगो लगाउन आइतबार पुनः सचिवालय बैठक बस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्