काठमाडौं । नेपाल प्रहरीमा एआइजीमा सिफारिस भएका पाँच डिआइजीको सोमबार बढुवा हुने भएको छ । सोमबार बिहान बस्ने मन्त्रिपरिषद्को बैठकले एआइजीमा बढुवा गरी पदस्थापन गर्ने तयारी गरेको छ ।
बढुवा समितिले गत साता डिआइजीहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई बढुवा सिफारिस गरेको थियो । सिफारिस उपर उजुरी नपरेपछि मन्त्रिपरिषद्बाट बढुवाको निर्णय हुन लागेको हो ।
उनीहरुमध्येबाट एक आगामी शुक्रबार आइजिपी हुनेछन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका उच्च अधिकारीले १० चैत शुक्रबारदेखि ३० वर्षे सेवाहदका कारण अवकाश पाउँदैछन् । सो अवस्थामा एआइजीमा बढुवा भएको तीन दिनपछि नै आइजिपी नियुक्ति हुनेछ । यसपटक विवाद र अस्वस्थ प्रतिस्पर्धा नभएकाले बिहीबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले आइजिपी नियुक्ति गर्ने सम्भावना छ ।
पाँच प्रतिस्पर्धीमध्ये सबै जना उत्तिकै दाबेदार छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिदैछन् । त्यसपछि प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग छलफल गरेर आइजिपी नियुक्ति गर्ने प्रधानमन्त्रीको तयारी छ । पाँचमध्ये कोही पनि प्रधानमन्त्रीको निकट नभएकाले भावी आइजिपीको दृश्य अष्पष्ट छ । पाँचै जना प्रहरीको सर्वाेच्च पदमा पुग्न शक्तिकेन्द्र धाउन व्यस्त छन् । त्यस्तो अवस्थामा हालका आइजिपीलाई नै निरन्तरता दिने सम्भावना समेत रहेको बताइन्छ ।