Logo
Logo

नेकपाको निर्वाचन परिचालन कमिटी गठन


- दृष्टि न्युज/संवाददाता

0
Shares

भक्तपुर, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं. ३ की इन्चार्ज एवं पार्टी स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले भक्तपुरमा नेकपाले जनताको मन जित्न सफल भएकाले फेरि पनि नेकपाको नै जीत सुनिश्चित रहेको बताएकी छन् ।
नेकपा भक्तपुरले कमलविनायकमा आयोजना गरेको निर्वाचन परिचालन कमिटी गठन कार्यक्रममा बोल्दै उनले पार्टीका इमान्दार नेता हरिशरण लामिछानेको निधन भए पनि उनको योगदान, त्याग र निष्ठाको राजनीति जीवितै रहेकाले नेकपाको जीत सुनिश्चित रहेको बताइन् ।
नेत्री शाक्यले पार्टीले जोसुकै व्यक्तिलाई टिकट दिए पनि व्यक्तिभन्दा पार्टी ठूलो भएकाले उम्मेदवारको विषयमा नअल्झी एकताबद्ध भएर चुनावी अभियानमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई आग्रह गरिन् । प्रत्येक मतदातासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले भक्तपुरमा यसपटक पनि चुनाव जित्नेमा पार्टी ढुक्क भएको बताइन् ।
कार्यक्रममा सांसद महेश बस्नेतले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा नेकपाको उम्मेदवार विजयी हुनेमा दुईमत नरहेको बताउँदै विपक्षीको गलत चलखेललाई निस्तेज पारेर नेकपा अगाडि बढ्ने बताए । उनले सरकारले गरेका राम्रा कामबारे प्रचार गर्न नसक्दा विरोधीले जनतामा भ्रम फैलाउन खोजेको बताउँदै जनतालाई सरकारले गरेका जनमुखी कामबारे जानकारी दिँदै अगाडि बढ्ने बताए ।
कार्यक्रममा प्रदेश नं. ३ का पार्टी सह–इन्चार्जलगायतका पदाधिकारी, भक्तपुर जिल्ला कमिटीका इन्चार्ज दिलीप प्रजापति, सहइन्चार्ज सोम मिश्र, भक्तपुरबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेकपा सांसद, भक्तपुरमा रहेका नेकपा प्रदेश नं. ३ का सदस्य, नेकपाबाट जिल्लामा निर्वा्चित जनप्रतिनिधिको उपस्थितिमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

कार्यक्रमका सभापति एवं नेकपा भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको जानकारी दिए । चुनाव प्रचार समिति, व्यवस्थापन समिति, आर्थिक समिति, युवा समिति, मञ्च व्यवस्थापन समिति, ¥याली व्यवस्थापन समितिलगायत विभिन्न समिति गठन गरिएको छ । पार्टीले उम्मेदवारका लागि रमेश बुढाथोकी, मोहनवीर श्रेष्ठ, डिपी ढकाल र नारायणी फुँयालको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्