काठमाडौं । नेपालमा गाउँ–गाउँसम्म चर्चको विस्तारमा गृह मन्त्रालयकै शंकास्पद भूमिका देखिएको छ । ईसाई मिशनरी विस्तारमा लागेका समूहले गृह मन्त्रालयकै अधिकारीसँग सेटिङ मिलाउँदै आएका छन् ।
गृह प्रशासन निरिह हुँदा नेपालमा ईसाई धर्ममा रुपान्तरणको तिव्र भइरहेको छ । प्रमाणसहित कारबाहीका लागि सिफारिस हुँदा पनि गृहले त्यस्ता विदेशीमाथि कारबाही रोक्न गरेको छ ।
गृह मन्त्रालयकै संरक्षणमा ग्लोबल मिसन नेपाल नामक संस्थाले प्रलोभनमा धर्म परिवर्तनको धन्दा बढाएको छ । उक्त संस्थाका पदाधिकारीमाथि कारबाही गर्न अध्यागमन विभागले प्रतिवेदन दिएपनि गृहले चासो नदिई संरक्षण गरेको छ ।
सो संस्थाले सन् २०३० भित्र नेपालको ‘एक गाउँ एक चर्च’लाई अभियान नै चलाएको छ । यसरी खुलेआम धर्म रुपान्तरण भइरहँदा पनि कारबाहीमा नहुँदामा सो संस्थाको पहुँच कति उच्च तहसम्म छ भन्ने प्रष्ट भएको छ ।
ग्लोबल नेपालका अध्यक्ष एवं नेपाली मूलका अमेरिकी नागरिक दान पोखरेल हुन् । पोखरेललाई देश निष्काशन गर्ने प्रस्ताव अध्यागमन विभागले गरेपनि गृह मन्त्रालयले चासो दिएको छैन ।
पछिल्लो तीन वर्षयता कोराना महामारीका कारण यस्ता धर्म परिवर्तनसम्बन्धी गतिविधि रोकिएका थिए । अहिले अवस्था सामान्य भएसँगै फेरि यस्ता गतिविधि ह्वात्तै बढेको छ । खासगरी आर्थिक रूपले पछि परेका समुदायमा आर्थिक सहयोगमार्फत धर्मान्तरण हुने गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिमा सहयोगको नाममा गाउँ गाउँसम्म चर्च खुलेका छन् ।
कतिपय व्यापारको आवरणमा यस्ता गतिविधिमा आबद्ध छन् । उनीहरुमाथि छानबिन गरे कारबाही हुने निश्चित छ । तर, अध्यागमन विभाग र गृह मन्त्रालयका कर्मचारीलाई उनीहरुले आर्थिक प्रभावमा पारेर अवैध धन्दा चलाइरहेका छन् ।