Logo
Logo

आइजिपी नियुक्तिबारे बालुवाटारमा प्रचण्ड र देउवाबीच छलफल


12.4k
Shares


काठमाडौं । नेपाल प्रहरीमा शुक्रबार बेलुकादेखि रिक्त हुने आइजिपी पदमा नियुक्तिको विषयमा सत्तासाझेदार दलहरुबीच छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा बिहीबार साँझ यसबारे छलफल भएको छ ।


छलफलमा कसलाई आइजिपी बनाउने सहमति भइनसकेको बालुवाटार स्रोत बताउँछ । ‘भोलि बिहानसम्म कुरा मिल्ने र बिहान नै मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्ने सम्भावना छ,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने ।


भावी आइजिपीका लागि पाँच एआइजी प्रतिस्पर्धामा छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका दाबेदार हुन् । उनीहरुमध्ये कुँवर र ज्ञवाली मुख्य प्रतिस्पर्धामा रहेको बताइन्छ । उनीहरुबीच टक्कर हुँदा महिलालाई पहिलोपटक आइजिपीमा नियुक्ति गर्ने सम्भावना समेत रहेको बताइन्छ ।


प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत अधिकारीले शुक्रबारदेखि अवकाश पाउँदैछन् । शुक्रबार साँझ प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिदाई कार्यक्रम हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्