Logo
Logo

वन अधिकृतद्वारा चार लाख भन्दा धेरै घुस असुली


693
Shares


काठमाडौं । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादवले चार लाख भन्दा धेरै घुस लिएको पुष्टि भएको छ । उनलाई निलम्बन गरी छानबिन अघि बढाइएको छ ।


सेवाग्राहीबाट घुस लिइरहेको भिडिओ प्रमाण फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो। हिरासतमा रहेको अभियुक्तका सरोकारवाला मानिससँग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिइन्।

सहायक अधिकृत (सातौं तह) यादवले प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ (२) बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानबिन तथा जाँचबुझ कार्यमा झुटा सबूत–प्रमाण संकलन गर्न सक्ने वा आफूविरूद्धका सबूत–प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहविरूद्ध अवैध रूपमा वन पैदावार ओसारपसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए। गत चैत ६ गने अभियुक्त साह पक्राउ परे।

जयनारायणले आफ्नो ट्र्याक्टर अरूलाई भाडामा दिएका थिए। भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ तस्करी गरेका थिए । अनुसन्धानको क्रममा सवारी साधन वनले नियन्त्रणमा लिएकोमा उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झन्डै ४ लाख रूपैयाँ लिइसकेको थिए । थप घुस मागेपछि पीडितले नै विभिन्न निकायमा उजुरी दिएका थिए । घुस लेनदेन गरेको भिडियो नै भेटिएपनि उनी निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यसमा छानबिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्