केशवचन्द्रहरू
लोभमा वशीभूत ती
जसले सहरमा ‘गुरुमापा’ हुले
बिम्ब, प्रतिबिम्ब ।
‘गुरुमापा’ एउटा आतङ्क
एउटा सधैँको त्रास
उसको गासको लागि
रोकिएको जनताको सास ।
बाच्ने चाहना सबैको एउटै
आवाज बन्यो एउटै
जनताले टुँडिखेलमा घोडा दौडाए
गुरुमापालाई धूलो चटाए ।
एउटा दानवीय स्वरूपको अन्त्य
जनताको खुसी बन्यो
तर मनको त्रास हराएन
गुरुमापा आउँछ कि भन्ने ।
यो त्रासले घोडा अझै दौडिन्छ
घोडेजात्रा बनेर टुँडिखेलमा
तर घोडाको टापबाट उडेको धूलो
चाट्नेमा जनता रूपान्तरित भए ।
गुरुमापा खुसी मनाइरहेको छ
टुँडिखेलको पभेलियनबाट हेरेर
उ मात्र होइन त्यहाँ
उसको बगाल नै बसेको छ ।
तेर्सापट्टी, पोखरा ।
समयः बिहान ६ः३६ बजे
मङ्गलवार, चैत्र ७, २०७९
घोडे जात्राको दिन